|

भूकम्पले घर भत्‍किए पनि मन भत्केको छैन' गोरखा पीपलछापका गुरुङसेनीहरू

समय खुसीको होस् कि दु:खको गीत संगीत घैरुङका गुरुङसेनीहरूको संस्कृति हो। गाउँमा आउने ज्वाइँ, चेला वा पाहुनालाई गीतसंगीतले स्वागत गर्नु यहाँको चलन हो। तर, यतिबेला गाउँमा अरू त को नै आउँथ्यो र? केही राहतका टोलीबाहेक।
राहत बाँड्नका लागि पुग्ने टोलीलाई पनि उनीहरू यस्तै गीत संगीतले स्वागत गर्छन्। काठमाडौंबाट गएको राहत टोलीलाई उनीहरूले अक्षता, फूलमाला र खादा लगाएर स्वागत गरे। स्वागतमा गाइएको गीतमार्फत उनीहरूले आफ्नो पीडाका शब्दहरू पोख्दै थिए।
यतिबेला स्थानीय पार्वती गुरुङको मनमा आधा रमाइलो आधा नरमाइलो छ। गाउँमा राहत आइपुगेको छ, अब छिट्टै उनीहरूले छानो पाउनेछन्। रमाइलो यसैमा छ। तर पनि जीवनभरको कमाइ, बासस्थान चकनाचुर हुँदा चित्त सजिलै कहाँ बुझ्छ र?
तै पनि गाउँमा आफूलाई सम् झेर आउनेहरूको आतिथ्य सत्कारमा उनीहरू चुक्दैनन्। भग्नावशेषमा जे जस्तो जुट्छ त्यसैले सहयोग गर्छन्। केही जुटेन भने मनको बह संगीतको माध्यममा पोखेर स्वागत गर्छन्।
स्थानीय तेजमाया गुरुङ भन्छिन्, 'घर पो भत्केको, मन त भत्केको छैन नि, पाहुना भनेको त भगवान्जस्तो सक्छौं त्यस्तै सत्कार गर्छौं।' यही निहुँमा भए पनि उनीहरू पीडा बिर्सेर हाँस्ने गरेका छन्। दिउँसो घाँस काटेर, मकै गोडेर आएकी झिल्किमायाको परिवार पालमुनि नै छ।

दिनभरिको शारीरिक थकान, फर्केर आएपछि टाउको लुकाउने ठाउँ छैन। भत्केको घर आँखैअगाडि हुँदा उनलाई कम्ती पीडा हुँदैन। तैपनि बाँच्नका लागि हाँस्नै पर्छ।
त्यसैले गाउँका दिदीबहिनी जम् मा भएर गीत गाउँदै पीडा भुलाउने प्रयत्न गर्छन्। उनी भन्छिन्, 'थकाइ त कति लाग्छ नी, सबै जम् मा भएर गीत गाउँदा एकछिन भए पनि मन हलुँगो हुन्छ।
भूकम् प आएपछि सहरमा पढ्न बसेका युवायुवती पनि गाउँ फर्केका छन्। भर्खर १९-२० वर्षजस्ता देखिने युवतीहरू पनि आफ्नो संस्कार धान्ने जमर्को गर्दै थिए। काठमाडौंबाट गाउँ फर्केका यानु गुरुङ, अनु गुरुङ, सपना गुरुङ पीडा बिर्सेर झ्याउरेमा रमाउँदै नाच्दै थिए।
गाउँमा आएका पाहुनाका लागि फूलको माला, अक्षता अनि खादाको तयारी पनि उनीहरूले नै गरेका हुन्। यानुले भनिन्, 'यो त हाम्रो संस्कार हो, दु:खै परे पनि छोड्न सक्दैनौं।'
उनीहरू आफ्नो घाउमा मलमपट्टी लगाउन आउने आगन्तुकलाई हाँसीखुसी स्वागत गर्छन्। गीत गाउँछन्, नाच्छन् र दु:ख भुल्ने कोसिस गर्छन्। जस्तै पीडा भए पनि गाउँमा राहत लिएर पुगेका टोलीलाई स्वागत गर्न कुनै कसर बाँकी राख्दैनन्।
गीतसँगै हाँसो ठट्टा पनि गर्छन्। अहिले गाउँमा हिमालय महिला समूह र हिमालायदेवी युवा क्लबले गाउँमा आउने पाहुनाको स्वागत सत्कारको व्यवस्था गरिरहेको छ। 

Posted by Unknown on 4:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भूकम्पले घर भत्‍किए पनि मन भत्केको छैन' गोरखा पीपलछापका गुरुङसेनीहरू"

Leave a reply