|

युवा समाजसेवी एकाजांङ गुरुङको सामाजीक यात्रा ताँङतिङ गाउँदेखि~दुबई यु,ए.ई सम्म

रोशनी गुरुङ, सम्पादक  तमु संसार
पोखारा,भद्र १९, २०७२

व्यक्तित्व परिचयः युवा समाजसेवी एकाजङ्ग गुरुङ्

प्रकृतिको उपहार सुन्दर हिमश्रृंखलाको उचाईसँगै अग्लिरहेको मनोरम एवं ऐतिहासिक गुरुङ्ग गाउँ ताङ्गतिङ् गाउँमा  बि.सं. २०२८ साल भदौ तीन गते बाबा श्री दान बहादुर गुरुङ्ग र आमा श्रीमती चन्द्र कुमारी गुरुङ्गको कोखबाट जेठो छोराको रुपमा जन्मिनु भएका लगनशील, मिलनसार र परिश्रमी श्री एकाजङ्ग गुरुङ्ग एक सर्वपरिचित समाजसेवी हुनुहुन्छ । गाउँमै गुरुङ्ग परम्परा अनुसार श्रीमती जमुना गुरुङ्गसँग बिवाह बन्धनमा बाँधिनु भएका गुरुङ्गको दुई छोरा र एक छोरी छन् । गाउँकै स्थानिय उच्च माध्यामिक विद्यालयमा माध्यामिक तहसम्मको शिक्षा हासिल गर्नुभएका पौरबी एकाजङ्ग गुरुङ्गले सात बर्षसम्म नेपाली सेनामा सेवा गरेका थिए भने विभिन्न प्रतिकुल परिस्थितिको कारण नेपाली सेनाको कैरिअरमा ताल्चा लगाएर छब्बिस बर्षको कलिलो उमेरमा विदेश हानिएका थिए । करिब बीस बर्ष लामो विदेश बसाईको कुरा गर्दा केही तितो केही मिठो अनुभाव बटुलेको बताउने गुरुङ्गले स्वदेशमा बगाउनु पर्ने पसिना वाध्यताले विदेशमा बगाउनु पर्दा नरमाईलो र दुःख लागेको बताउनु हुन्छ ।

बैदेशिक रोजगारीको लागि विदेशतीर भासिएको भएपनि समाजसेवालाई निरन्तरता दिई रहेका एकाजङ्ग गुरुङ्गले दुवईमा रहेर पनि नेपाल र नेपाली लगायत गुरुङ्ग समुदायको हक हित र अधिकार लगायत उन्नति, प्रगति तथा विकासको लागि तन, मन र धन दिँदै सन् १९९८ सालदेखि विभिन्न संघ सँस्थाहरुमा आबद्ध हुँदै कल्याणकारी कार्यहरु गर्दै आईरहेकाछन् । दुवईमा क्रियाशिल संघ सँस्थाहरुः तमु समाज युएई, नेपाली समाज युएई, कास्की आदर्श समाज युएई र आदिवासी जनजाली महासंघ युएईमा सक्रिय रहेका गुरुङ्ग तमु प्ये ल्हु संघ युएईका सँस्थापक अध्यक्ष हुनुहुन्छ भने तमु प्ये ल्हु संघ युएईमा अध्यक्ष भई कर्तव्यनिष्ठ रुपमा दुई कार्यकाल पुरा गर्नुभएका गुरुङ्ग हाल सल्लाहकार हुनुहुन्छ । त्यसैगरी तमु समाज युएईको उपाध्यक्ष हुनुहुन्छ भने कास्की आदर्श समाज युएईको सल्लाहकार र आदिवासी जनजाती महासंघ युएईको सदस्य हुनुहुन्छ ।

सानै उमेरदेखि नै सामाजिक क्षेत्रमा काम गर्न मन पराउने गुरुङ्गले विदेश पलायन हुनुभन्दा अगाडी आफ्नो जन्मथलो ताङ्गतिङ्गदेखि नै समाजसेवा गर्ने सोँच लिएर समाजसेवीको रुपमा नमुना बनिसकेका थिए । नेपालमै रहेर देशको सेवा गर्ने सोँचले नेपाली सेनामा भर्ती भएर देशको सिपाहीको रुपमा कैरिअर शुरु गर्ने गाउँकै पहिलो व्यक्तिको रुपमा चिनिने समाजसेवी एकाजङ्ग गुरुङ्गले सात बर्ष लामो सेवा गरेपछि उपदानमा नेपाली सेनाबाट अवकास लिएर गाउँमा स्थानिय चुनावमा होमिए । नेपाल कम्युनिष्ट पार्टी एमाले बाट वडा अध्यक्ष पदमा चुनाव लडेर ताङ्गतिङ्ग गाउँ वडा नम्बर चारबाट विजय हासिल गरेका गुरुङ्गले केही बर्ष गाउँको सेवा गर्नुभयो भने अन्नपूर्ण प्रकृति संरक्षण कोष अन्तर्गत ताङ्गतिङ्गमा सचिव भएर काम समेत गर्नुभयो । त्यसैगरी गाउँमा पहिलो पटक टोल टोलमा सार्वजानिक सौचालय निर्माण गर्ने अभियान चलाएर गाउँलाई स्वच्छ र सफा नमुना गाउँ बनाउनु भयो भने ताङ्गतिङ्ग गाउँमा आउने पर्यटक तथा अतिथि पाहुनाहरुलाई ताङ्गतिङ्ग गाउँको सप्रेम अँगालोमा हृदयस्पर्शी स्वागत गर्ने स्वागत गेट अर्थात प्रवेशद्धार वहाँको आफ्नै परिवारको लगानिमा निर्माण गराएकाछन् । जसको निर्माण लागत चार लाख रुपियाँ रहेकोछ ।

समाजसेवामा अति नै अभिरुचि राखेर सामाजिक कार्यलाई आफ्नो पहिलो दायित्वको रुपमा लिएर छोटो समयमा धेरै उदाहरणीय कार्यहरु गर्नुभएको भएपनि घरायसी प्रतिकुल परिस्थितिहरुको कारण रोजगारीको शिलशिलामा करिब बीस बर्ष अगाडी विदेश लाग्नु भएको गुरुङ्ग अहिले पनि युएईमा कार्यरत हुनुहुन्छ परदेशमा रहँदा आफ्नो मौलिकता तथा नेपाली परिवेश अनी आफ्नो रितिस्थिती एवं परम्पराबाट अलग रहनु पर्ने नरमाईलो क्षणहरुले मन पोलेपछि विदेशमै रहेर पनि आफ्नो मौलिक संस्कार, सँस्कृति, परम्परा तथा भाषाको संरक्षण, सम्बर्धन तथा प्रवद्र्धन गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास लिएर युएईमा पनि नेपाली वातावरण सिर्जना गराउन विभिन्न समाजिक कार्यक्रम आयोजना गर्न गराउन सक्रिय रहनु भएका एकाजङ्ग गुरुङ्ग विदेशमा गुरुङ्ग संघ सँस्थाको अवस्थाको बारेमा यसो भन्नु हुन्छ – “खासै भन्नु पर्दा यएईमा पुरानो सँस्था तमु समाज नै हो तर अहिले पछिल्लो समयमा तमु जातिको मौलिक पहिचान, प्राचिन एवं ऐतिहासिक सम्पदा र संरचना अनि संस्कार, सँस्कृति, परम्परा, भाषा, भेषभुषा लगायतका सवालमा जनचेतना आएपछि मौलिकता प्रेमी तमुहरुको बाहुल्यता रहेको प्राय स्थानहरुमा तमु प्ये ल्हु संघको शाखा तथा प्रशाखाहरु स्थापना र गठन कार्य तिब्र रुपमा बढेकोछ । तमु जातिको लोपोन्मुख कुल (वोँन) धर्म, संस्कार, सँस्कृति, परम्परा, रितिस्थिती, भाषा, भेषभुषा तथा ऐतिहासिक सम्पदा र संरचनाहरुको संरक्षण, सम्बर्धन तथा प्रवर्धन गरी मौलिक पहिचान सहितको समृद्ध समाज पुनस्थापनाको लागि सबै एकजुट भएर लागि परेकोछ ।”

युएईमा तमु प्ये ल्हु संघले तमु जातिको मौलिक पहिचान पुनस्थापना गराउने कार्य लगायत सामाजिक, साँस्कृतिक, धार्मिक लगायत खेलकुद क्षेत्रमा समेत सक्रिय रहेर खाडी मुलुकमा उदाहरणीय कार्य गरेकोछ । यसैगरी कुवेत, कतार र ओमनमा समेत तमु प्ये ल्हु संघ स्थापना गराउन वहाँको विशेष भूमिका र योगदान रहेकोछ भने बि.सं. २०६८ सालमा युएईमा तमु प्ये ल्हु संघ स्थापना गराउन उल्लेखनिय भूमिका निभाउनु भएका समाजसेवी गुरुङ्गको पहलमा तमु प्ये ल्हु संघ युएईले विभिन्न उल्लेख्य कार्य गरेकोछ जसमा सेती नदी बाढी (हिम पहिरो) पिडितलाई आर्थिक सहयोग, तीनजना मृगौला पिडितलाई आर्थिक सहयोग, विदेशमा अलपत्र परेका दुईजना नेपाली चेलीहरुलाई उद्धार गरी नेपाल पुर्याउन हवाई टिकेट सहयोग गरेकोछ भने खेलकुद क्षेत्रमा विशेष सफलता हासिल गर्दै विभिन्न उत्कृष्ठ पुरस्कारहरु हात पारेकाछन् । यसैगरी कास्की र लम्जुङ्गको विभिन्न गुरुङ्ग गाउँमा प्येताँ ल्हुताँ सम्बन्धि खेगी–चोकी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गराएकोछ ।
हालै नेपालमा गएको गत २०७२ बैशाख १२ गतेको बिनासकारी महाभूकम्पबाट प्रभावित भएका भूकम्प पिडितहरुको राहतको लागि तमु समाज युएईको सहकार्यमा पाँच लाख तेत्तिस हजार आर्थिक सहयोग संकलन गरी पठाएकोछ । जुन सहयोग तमु प्ये ल्हु संघ केन्द्रिय समिति पोखरा मार्फत बितरण गरिसकिएकोछ । विदेशमा रहदा पनि आफ्नो मौलिकता नभुलोस्, भाषा, संस्कार, सँस्कृति नभुलोस् र नेपाली समुदायमा भातृत्वको विकास होस् भन्ने अभिप्रायले नेपाली समाज तथा तमु संघ सँस्थाहरु स्थापना गरेर क्रियाशिल रहँदा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभिन्न सहयोग हुने बिचार राख्नु हुने समाजसेवी एकाजङ्ग गुरुङ्ग तमु समुदायको छरितो बिकासको लागि सबै तमुहरु मौलिक पहिचान सहितको मुद्धा र सवालरुमा एकजुट भएर जान अति आवश्यक रहेको कुरा औँल्याउनु हुन्छ भने वर्तमान अवस्थामा तमु समुदायहरुमा मौलिक सँस्कृतिको नाउँमा बिकृती बढिरहेको हुँदा त्यसलाई निराकरण गरी रोकथाम गर्न र बिकृती रहित समाज स्थापना गराउन सबैले सचेत भएर “विकृती विनास र सँस्कृति विकास”को उदाहरणीय अभ्यास गर्न गराउन अति आवश्यक रहेको कुरा बताउदै हुदै मौलिकता प्रेमीहरुलाई एकजुट भई अगाडी बढ्ना आव्हान तथा अनुरोध गर्नु भएकोछ

Posted by Unknown on 12:46 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "युवा समाजसेवी एकाजांङ गुरुङको सामाजीक यात्रा ताँङतिङ गाउँदेखि~दुबई यु,ए.ई सम्म"

Leave a reply