|

अर्बपति शेष घले द्दुरा आफैंले पढेको नवनिर्मित विद्यालय भवनको उद्घाटन |

 अर्बपति शेष घले द्दुरा आफैंले पढेको नवनिर्मित विद्यालय भवनको  उद्घाटन  |

आईतबार , १७ असोज २०७२

लमजुङमा आफैंले पढेको विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा बाल्यकाल सम्झिएर अर्वपति शेष घले भक्कानिए । गैर आवासीय नेपाली संघका (एनआरएनए) अध्यक्ष घलेले अवसर पाएमा यहाँका थुप्रै बालकालिका ‘शेष घले’ बन्नसक्ने बताए । आमा देवकुमारी, अष्ट्रेलियाली राजदूत ग्लेनह्वाइट र श्रीमती ह्वाइटसँगै विद्यालय पुगेका उनले सबैले बराबर अवसर नपाउँदा प्रतिभाको विकास हुननसकेको भन्दै थपे, “काठमाडौंको जस्तो पूर्वाधार गाउँमा छैन, सबैलाई समान अवसर दिने दायित्व राज्यको हो । नेपाल सिस्टममा नचलेकाले यस्तो अवस्था आयो ।” मन्तव्यका क्रममा उनले आफ्नो बाल्यकाल सम्झँदै भने “विद्यालयबाट भागेको थाहा पाएपछि हजुरआमाले दिनभर चौरमा राखेर पढ्न लगाउनुहुन्थ्यो ।” बोल्दाबोल्दै उनी भक्कानिए र आँशु पुछ्दै भने, “म अलि ईमोशनल छु, माफ गर्नुहोला ।” उनले भने, “मेरो पैसा भन्दा तपाईहरुको मेहनत ठुलो हो, मेरी आमा र तपाइँ गाउँलेहरु आफैं खटिएर विद्यालय बनाउनु भयो, त्यही ठूलो कुरा हो। ।” भूकम्पले जिर्ण बनाएको ग्रामकल्याण निमाविको भवन अर्वपति घलेकै नेतृत्वको मिट ग्रुप फाउण्डेसन अष्ट्रेलियाको सहयोगमा पुनःनिर्माण गरिएको हो । विद्यालय भवन उद्घाटनका लागि घले १७ साउनमा अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटसँगै श्रीएअरको हेलिकप्टरबाट जन्मगाउँ लमजुङ पुगेका थिए ।

लमजुङबासीले घलेको पञ्चेबाजा र फूलमालासहित स्वागत गरे । स्कुल जानुअघि बाजागाजा र स्वागत गर्नेको लस्करलाई अघि लगाउँदै, ठाउँ ठाउँमा स्वागतद्वार छिचोल्दै उनीे घनपोखराको नायुस्थित घरमा पुग्दा आमा देवकुमारीले टीका र टोपी लगाइदिएर स्वागत गरेकी थिइन् । एनआरएनएको अध्यक्षमा पुनः उम्मेदवारीको घोषणा गरेका उनले आमालाई खुट्टामा ढोगिदिए र आशिर्वाद थापे । मिट ग्रुप फाउण्डेसन अष्ट्रेलियाले विद्यालय भवन निर्माणमा रु ५० लाख सहयोग गरेको छ । ७ कोठे भवन निर्माण गर्दा रु ६४ लाख खर्च भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर गुरुङले बताएपछि उनले उक्त थप रकम पनि आफूले दिने प्रतिवद्धता व्यक्त गरे । गाउँलेको तामझामपूर्ण स्वागतबाट उत्साहित भएका राजदुत ग्लान ह्वाइटले आफू नेपालमा राजदुत भएर आए देखि यस्तो स्वागत पहिलो पटक पाएको भन्दै गाउँको सुन्दरताको बखान गरे ।


 उक्त भवनको नाम घलेका बुवा–आमाको नाममा “उदिम– देवीकुमारी स्मृति भवन” राखिएको छ । घलेले नेपालको शिक्षामा सुधारका लागि मिट फाउण्डेशन मार्फत रु एक अर्बको अक्षय कोष खडा गरेका छन् । १२ वैशाखको भूकम्पपछि सरकारले सद्भावना दूत बनाएका घलेले भूकम्पले गर्दा देशका आठ हजारभन्दा बढी विद्यालय भवनहरु भत्किएको बताए । “अहिले नौ लाख विद्यार्थी कक्षाकोठा बाहिर छन्,” उनले भने, “ती सबै विद्यालय बनाउनुछ ।” हेलिकप्टर ल्याण्ड गरेको स्थान नजिकै शेष घलेको बुबा उदिमको समाधी स्थल छ । त्यहाँ पुगेर घले र उनको टोलीले श्रद्धाञ्जली अर्पण समेत गरेका थिए । २००८ सालमा स्थापना भएको यस विद्यालयमा अहिले २५० जना विद्यार्थी पढिरहेका छन् । शब्द/तस्वीरः युवराज श्रेष्ठ, 

Posted by Unknown on 7:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अर्बपति शेष घले द्दुरा आफैंले पढेको नवनिर्मित विद्यालय भवनको उद्घाटन |"

Leave a reply