|

कृषि उत्पादन बाट लाहुरेको कमाई भन्दा लाहुरेनी मिना गुरुङको कमाइ धेरै |

कास्की, फाल्गुन २० - केही वर्ष अघिसम्म मीनु भनिने मीना गुरुङको परिचय श्रीमान् बेलायती लाहुरे भएकाले लाहुरेनीमा सीमित थियो । बेलायत, हङकङ र जापानमा गरी १६ वर्ष बिताएकी उनले स्वदेश फिर्दा विलासिताका सामान ल्याइनन् । साथमा ल्याइन त्यहाँ देखेका कृषिका सम्भावनाको सपना । र, तिनै सपना गोडमेल गर्ने औजार लिएर आइन् ।  छोटो समयमै प्रांगारिक प्रविधिमा आधारीत कृषि उद्यमबाट आफ्नो फरक परिचय बनाउन सफल उनी पोखरा माटेपानीकी हुन । उनले भनिन्, 'विधि पुर्‍याएर कृषिमा काम गरे यहाँ पनि नहुने त होइन रहेछ ।' गुरुङले रासायनिक विषादीको प्रयोग नगरी खेती गरेकी छन् । ६ वर्षको अवधिमा उनी राम्रो आम्दानीको हिस्सेदार बनिन् ।

'श्रीमान्को कमाइमा मात्रै आश्रति भएर लाहुरेनी भइरहनुभन्दा आफै पनि केही गर्दा फरक परिचय बन्दो रहेछ,' उनले भनिन् । हेम्जाको २५ रोपनीबाट सुरु भएको उनको कृषि फार्म अहिले सार्दीखोला क्षेत्रमा पनि बिस्तार भएर ४१ रोपनी क्ष्ाेत्रफलमा फैलिएको छ । उनको 'माया इको भिलेज फार्म' मौसमी/बेमौसमी तरकारीदेखि गाई, भैंसी, बाख्रा, मौरी, गड्यौलापालन र च्याउ उत्पादनलगायत मिश्रति कृषि कर्मका लागि चर्चित छ । ८० लाख लगानी गरिरसकेकी उनले वाषिर्क रूपमा सबै खर्च कटाएर कम्तीमा १० लाख नाफा गर्दै आएको बताइन् ।  व्यावसायिक रूपमा खेती थाल्दा उनलाई सुरुमा आफन्तले बेलायतको आईडी नछाड्न भनेका थिए । धेरैले कृषिजस्तो दुःखी पेसा गरेको भन्दै होच्याउन पनि खोजे । 'बेलायतको आईडी दराजमा थन्काएर कृषिमा लागें,' उनले भनिन्, 'पहिला लाहुरेको परिचय थियो अहिले कृषकको परिचय बनाएकी छु ।' बेलायतको आईडी छाडेर यस्तो पेसामा लागेको भन्नेहरू अहिले उनको सफलता देखेर बधाई दिन आउँछन् । परिवारले समेत यो देशमा बसेर केही हुँदैन भनेर उनलाई दबाब नदिएका हैनन् । तर, कर्म गर्ने हो भने हुने रहेछ भन्ने यथार्थ अहिले उनले देखाएरै छाडिन् ।

श्रीमान् र दुई छोरा अझै बेलायतमै छन् । उनी भने स्वदेशमा बसेर कृषि उद्यमशीलता गरिरहेकी छन् । उनले भनिन्, 'मलाई उता बोलाइरहन्छन् तर, यहाँ आफ्नै मेहनतले एउटा फरक परिचय बनाउन सकेकी छु । मलाई यसको माया छ ।' उनको भनाइमा विदेशको काम सजिलो छैन । 'विदेशमा पनि पैसा फल्दैन, मिहिनेत नै गर्नुपर्छ,' गुरुङले भनिन्, 'उता जसरी नै विधि पुर्‍याएर समय र ध्यान दिएर काम गरेयता पनि मनग्ये आम्दानी हुन्छ । मान्छे किन बुझ्दैनन् भन्नेचाहिँ मलाई अचम्म लाग्छ ।'  एकल महिलाको आत्मविश्वास बढाउन आफ्नो फार्ममा रोजगारी अवसर दिएको उनले सुनाइन् । सुरुवातका केही वर्ष लाहुरेनीले हात हालेको यो कृषिको क्षेत्रमा उनलाई आफ्नो पकड दरिलो बनाउन निकै संघर्ष पनि गर्नुपर्‍यो । अन्ततः विस्तारै आफ्ना उत्पादनलाई बजारले चिनेको अनुभव उनको छ । दैनिक आठ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएको फार्ममा मात्रै उनको सक्रियता सीमित छैन । प्रांगारिक विधिबाट गरिने खेतीका लागि उद्यमी संघ नै स्थापना गरेर अभियानको नेतृत्वसमेत लिएकी छन् । 'जसरी हुन्छ खानेकुरामा विषादीको प्रयोग घटाउनै पर्छ । मेरो कृषि कर्म यसैमा लक्षित छ,' उनले भनिन्, 'यति हुन सके मान्छेलाई धेरै प्रकारका रोगले छिटो भेट्दैन ।' उनको कृषि कर्म रैथाने प्रजातिका भैंसी, गाई र कुखुरा पनि जोगाउनुपर्छ भन्नेमा केन्दि्रत छ ।

जिल्ला कृषि विकास कार्यालय कास्कीका बागबानी अधिकृत मनहर कडरियाले भने, 'मीना गुरुङको परिचय एउटा फरक व्यावसायिक महिला कृषि उद्यमी भने हुन्छ ।' पर्यटकीय क्षेत्र भएकाले पोखराको बजारमा रासायनिक मल र विषादिरहित विधिका उत्पादन बिक्री सहज भएको उनले बताए । 'यो एउटा अभियान हुनुपर्ने हो, खासमा मान्छेलाई रोगमुक्त बनाउन यस्ता धेरै किसान जाग्नुपर्छ,' उनले भने, 'हामी अहिलेका लागि मीना गुरुङ हाम्रो क्षेत्रको उदाहरण भन्छौं ।   उहाँले आफंै गर्नुभएको छ । अरूलाई सिकाउनु पनि भएको छ ।'

प्रकाशित मिति: २०७१ फाल्गुन २० गते  कान्तिपुर दैनिक 

Posted by Unknown on 7:23 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कृषि उत्पादन बाट लाहुरेको कमाई भन्दा लाहुरेनी मिना गुरुङको कमाइ धेरै |"

Leave a reply