|

घाँटी रेटेरा बागलुङमा महिलाको हत्या |

बागलुङ,प्रहरीको बाक्लो उपस्थिति रहने बागलुङ नगर क्षेत्रमा सम्साँझै एक महिलाको क्रुरतापुर्वक हत्या भएको पाँच दिन बितिसक्दा पनि प्रहरी अपराधी समक्ष पुग्न सकेको छैन । सम्साँझै व्यस्त सडकमा एक महिलाको विभत्स तरिकाले हत्या गरिँदा पनि प्रहरी अपराधी समक्ष नपुग्नुले प्रहरीको सुरक्षा रणनीतिमा समेत गंभीर प्रश्न उब्जाएको छ । बागलुङ नगरपालिका– ५ बोक्सेगैरास्थित सिगाना–७ घर भई बिहुँ गाविसको वडा नम्बर १ दोबिल्लामा व्यवसाय संचालन गर्दै आएकी ३६ वर्षिया रुपा गौतमको बिहिबार सम्साँझै धारिलो हतियार प्रयोग गरी मध्यपहाडी लोकमार्गको बीच सडकमै हत्या गरिएको थियो । सडकको बीचमा मृत अवस्थामा देखेपछि ट्याक्टर चालकले प्रहरीलाई खवर गरेपछि मात्र प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार, यो जिल्लाकै पहिलो विभत्स तरिकाले गरिएको हत्या हो । गौतमको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । गौतमको हत्याबारे छानवीन गर्न जिल्ला प्रहरी कार्यालयका बागलुङका प्रहरी निरिक्षक राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेर सम्पूर्ण शक्ति यसैमा केन्द्रित गरेपनि अपराधीसमक्ष भने अझै पुग्न सकेको छैन । प्रहरीले घटनाका बारेमा केहीलाई सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, घटनास्थल घर नजिकिकैका रुपेश रेग्मी, बिहुँ गाविसका चेतनारायण कँडेल, नारायण न्यूरे, पालाका सुजन थापा, खहरेका जुद्वबहादुर केसी, दिलिप खड्का र चित्रबहादुर कार्कीलाई घटनाबारे सोधपुछ गरेको थियो । ‘हाम्रो सम्पूर्ण शक्ति गौतम हत्या घटनाको विषयमा केन्द्रित छ’ छानविन टोलीका सदस्य प्रहरी नायव निरिक्षक शैलेन्द्र खड्काले भने, ‘सत्यतथ्य पत्ता लगाएर केही दिन भित्रमै यथार्थ सार्वजनिक गर्छाै ।’ गौतमको योजनावद्व तरिकाले हत्या गरिएको सदस्य प्रनानि खड्काको भनाई छ । गौतमको विभत्स हत्या गरिएको भन्दै बागलुङमा क्रियाशिल महिला संघ संगठन र महिला अधिकारकर्मीले विज्ञप्तीमार्फत विरोध गरेपनि दबाबमुलक कार्यक्रम गरेका छैनन् । गौतमको सुनोयोजित रुपमा हत्या हुनुले कानुनी राज्यको उपहास र महिला असुरक्षित भएको भन्दै दोषीलाई पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

Posted by Unknown on 11:32 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घाँटी रेटेरा बागलुङमा महिलाको हत्या |"

Leave a reply