गुरुङ चलचित्र नेपाल देखि हङ्गकङ्ग सम्म |
पोखरा, १८ भाद्र /गुरुङ चलचित्रकी नायिका सोविन गुरुङको व्यस्तता बढ्दै गएको छ । उनी सहितको टोली हालैमात्र छायाङ्कन सम्पन्न चलचित्र अञ्जुलीको प्रदर्शनको लागि भदौ १९ गते हङ्गकङ्गतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । चलचित्र प्रदर्शनको लागि निर्देशक नौजङ्ग गुरुङ, नायिका सोविन गुरुङ, सहनायिका कविता गुरुङ लगायतको टोली हङ्गकङ्गतर्फ प्रस्थान गर्ने चलचित्रकर्मी डिवी गुरुङले बताउनु भयो
पहिलो गुरुङ चलचित्र पातेका नायक तथा निर्माता प्रितम गुरुङको निर्देशनमा बनेको म्ही छ्याबा चलचित्रबाट १४ वर्षको उमेरदेखि नै उहाँले गुरुङ चलचित्र क्षेत्रमा प्रवेश गर्नु भएको हो । उहाँले आसेबा, तारे ह्युल तोतम, पुन्टे साइला, च्हच्हमी, गेटपास, सहित कलात्मक निर्देशकका रुपमा चर्चित माओत्से गुरुङको निर्देशनमा बनेको चलचित्र सुराक र हालै छायाङ्कन सम्पन्न भएको नेपाली चलचित्र जुनीजुनीमा अभिनय गर्नु भएको छ । यसै क्रममा उनले दुई ओटा म्यूजिक भिडियोमा समेत अभिनय गरिसक्नु भएको छ ।
हङ्गकङ्गबाट प्रदर्शनको सुरुवात हुने अञ्जुली चलचित्र नेपालमा कात्तिक महिनाबाट प्रदर्शनमा ल्याउने निर्देशक नौजङ्ग गुरुङले बताउनुभयो । उहाँको सै, चोखोमाया पछिको यो तेस्रो चलचित्र हो । हालैमात्र छायाङ्कन सकिएको चलचित्र जुनीजुनी अहिले सम्पादनको क्रममा रहेको चलचित्रका निर्देशक माओत्से गुरुङले बताउनुभयो । रोयल ट्रेकको प्रमुख गन्तव्यस्थल हंसपुर गाविस–७ स्याक्लुङकोट र रुपाकोट गाविसका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको हो । माओत्से फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको जुनीजुनी चलचित्र गुरुङहरुको महान् पर्व ल्होसारपश्चात प्रदर्शन गरिने निर्माण नियन्त्रक डिबी गुरुङले बताउनु भयो ।
नायिका गुरुङले दशैं तिहारपछि दुई ओटा गुरुङ भाषाको चलचित्र छायाङ्कनमा व्यस्त हुने बताउनु भयो । अग्रज निर्देशकहरुसँग काम गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको उहाँ बताउनुहुन्छ । म्यूजिक फिल्म प्रालिद्वारा गायक, संगीतकार तथा सिनेमाटोग्राफर सन्तोष कोन्मेको निर्देशनमा निर्माण हुने गुरुङ भाषाको चलचित्रमा समेत नायिकाको रुपमा अनुबन्धित हुनु भएको छ ।
