|

पोखारा फेवाताल पारिको किनारमा रहेको रेस्टुरेन्ट पहिरोले पुरिँदा चारजना कामदार बेपत्ता |

पोखरा-भिषण वर्षासँगै आएको पहिरोले फेवातालको पारि किनारमा रहेको रेस्टुरेन्ट पुरिँदा चारजना कामदार बेपत्ता भएका छन्। पुम्दीभुम्दी–१, अनदुस्थित फेवाकिनारमा रहेको टिपिकल रेस्टुरेन्ट गएरातीको पहिरोले पुरिएको थियो।

कास्कीका प्रहरी प्रमुख एसपी वसन्तकुमार लामाका अनुसार पहिरोले रेस्टुरेन्ट पुरिँदा त्यहाँ कार्यरत ओखलढुंगाका प्रकाश मगर (२८), सिन्धुलीका मोहन मगर (१८), धादिङका राम मगर (२२) र रामेछापका भुवन मगर (२२) बेपत्ता भएका छन्। उनीहरुको स्थानीय, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन्।

राती करिब २ बजेतिर स्तुपातिरबाट सोहोरिएर आएको बाढीले रेस्टुरेन्टलाई पुरेको थियो। ‘खोल्साको अन्तिम बिन्दुमा तालछेउमा रेस्टुरेन्ट थियो। सोही खोल्साबाट बगेर आएको ढुंगामाटो, रुखका मुढाले रेस्टुरेन्टलाई पनि बगाएछ,' एसपी लामाले भने, ‘रेस्टुरेन्ट बग्दा त्यहाँ कार्यरत चारजना कामदार बेपत्ता भएका छन्।' बिहान मात्र घटना थाहा भएपछि उद्धारका लागि सुरक्षाकर्मीको टोली त्यहाँ पुगेको थियो।




चारकोठाको लजसहितको रेस्टुरेन्टमा राती कोही पाहुना भने थिएनन्। ‘तालमा पानीको तह बढेको र माथिबाट आएको भेलले बगाएपछि रेस्टुरेन्ट तालमै पुगेको छ' उनले भने, ‘हिलो र ढुंगामाटो भएकोले पनि बेपत्ता भएकालाई भेटाउन मुस्किल परेको हो।'
फेवातालमा डुंगा चढेर मात्र पारि जान सकिने उक्त ठाउँमा डोजर लगायतका खोज उपकरण लैजान नमिल्ने भएकोले पनि उद्धारमा समस्या भएको एसपी लामाले बताए। 



तालपारिको उक्त रेस्टुरेन्ट स्थानीय गोकुल मगरले विगत ९ वर्षदेखि भाडामा संचालन गर्दै आएका थिए। स्थानीय बद्रीप्रसाद गुरुङको उक्त घर गोकुलले रेस्टुरेन्ट र लजको रुपमा चलाएका थिए। ‘म पनि रेस्टुरेन्टमै बस्ने गर्दथे। हिजो दुईजना अरु नेपाली पाहुना आएकोले उनीहरुलाई लिन बेलुकितरि लेकसाइड गएको थिए। राती अबेर भएकोले पाहुनाले ताल पारि नजाऔं भने। त्यहि भएर म पनि लेकसाइडमै बास बसेँ,' रेस्टुरेन्ट संचालक मगरले भने, ‘पाहुनाले राती नजान भनेपछि मलाई ढुंगा चलाएर एक्लै पारि जान डर पनि लाग्यो।' पाहुना आएकै कारणले आफु रोकिएको उनले बताए।

Posted by Unknown on 1:18 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखारा फेवाताल पारिको किनारमा रहेको रेस्टुरेन्ट पहिरोले पुरिँदा चारजना कामदार बेपत्ता |"

Leave a reply