पाँच वर्षमा २० लाख बढी नेपाली युवा वैदेशिक रोजगारीमा विदेश गए
बितेको पाँच वर्षमा रोजगारीको खोजीमा २० लाखभन्दा बढी युवा विदेश पलायन भएका छन्। यो तथ्यांकले आन्तरिक बजारमा रोजगारीको चरम अभाव रहेको पुष्टि गरेको छ। बिदेसिनेको संख्या प्रत्येक वर्ष बढिरहेकाले सरकारले केही वर्षयता ल्याएको युवा केन्द्रित स्वरोजगारका विभिन्न कार्यक्रमसमेत प्रभावकारी नभएको देखिएको छ। विगत पाँच वर्षयताको आँकडा अध्ययन गर्दा प्रत्येक पछिल्ला वर्षमा बिदेसिनेको संख्या बढेको छ। सरकारी अनुमति लिएरै बिदेसिने पाँच वर्षमा २० लाख नाघेका छन्। यसबाहेक अवैध तरिकाबाट रोजगारीको खोजीमा मुलुक छाड्नेको संख्या पनि ठूलो रहने गरेको छ। सरकारको स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेको वास्तविक तथ्यांक छैन।
