|

जागे ताङतिङका तन्नेरीहरु


आश गुरुङ
तस्विरहरुः लेखक
गाउँघरका तन्नेरीहरु अचले गाउँमा बस्दैनन् । कोही बजारमा बसेर पढ्न ब्यस्त छन् त कोही रोजगारीका लागि विदेशमा । उनीहरु पनि प्रायः गाउँघर फर्किँदैनन् । ताङतिङको ब्यथा पनि उही हो । तर, ताङतिङबाट बाहिर गएका स्थानीयहरु बर्षमा १ पटक कुनैपनि हालतमा गाउँ फर्कन्छन् । किनकी गाउँको चैत्र मेलालाई सफल पार्न । अनि उनीहरु एकजुट भएर काम फत्ते गर्छन् ।
      कास्कीको उत्तरपूर्वमा रहेको रमणीय गाउँ ताङतिङ । पछिल्लो समय पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । नामार्जुङ गाविसको वडा नम्बर १ देखि ५ सम्म फैलिएको ताङतिङ गाउँमा २ सय बढी घर छन् । टाढाबाट हेर्दा दन्तेलहर जस्तो घरहरु देखिने ताङतिङ गाउँ पहिलेको जस्तो छैन अहिले । युवा तन्नेरीहरु विकास निर्माणदेखि लिएर पर्यटकीय गन्तब्य बन्ने जमर्कोमा जुटेकाछन् ।
समुन्द्री सतहदेखि झण्डै १ हजार ६ सय ५० मिटरको उचाईमा रहेको सुन्दर ताङतिङ गाउँ सँस्कृति र प्राकृतिक रुपले धनी छ ।

ताङतिङको चैत्र मेला
कास्कीको उत्तरपूर्वी क्षेत्रमा ताङतिङ मेलाको विशेष चर्चा छ । विशेषगरि चैते दशैँको अवसर पारेर आयोजना गरिने ताङतिङको चैत्र मेला २०७० लाई यसवर्ष रजत जयन्तीको रुपमा मनाईएको छ । ५ दिनसम्म आयोजना गरिएको मेलामा स्वदेशी तथा विदेशी पर्यटकको समेत बाक्लो उपस्थिति थियो ।
      शुरुमा बेलयाती सेनाका स्थानीयवासिन्दाको सक्रियतामा शुरु भएको ताङतिङ चैत्र मेलालाई पछिल्लो समय ताङतिङ युवा क्लवले संचालन गर्दै आएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म आफ्नो पहिचान वनाउन गाउँकै ताङतिङ युवा क्लबले वार्षिक रुपमा ताङतिङ चैत्र मेला आयोजना गर्दै आएको छ । ताङतिङ मेलामा स्थानीय कलाकार साथै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति हरेकबर्ष रहन्छ । ‘पल्टनमा गाउँको नाम ताङतिङ भन्दा साथीहरुले थान्सिङ, तान्सेन भनेर बुझ्थे’ मेलाका संस्थापक संयोजक बेलयाती सेनाका भूपू मेजर बालासिंह गुरुङले भने, ‘गाउँको पहिचानका लागि चैत्र मेलाको शरुवात गरिएको हो ।’ अहिले आएर ताङतिङ सवैले चिन्ने नाम भएकोमा उनले खुसी ब्यक्त गरे । मेलामा छेलो हान्ने, डोरी तान्नेदेखि भलिबल, बास्केटबल प्रतियोगिता र विभिन्न साँस्कृतिक झाँकीहरुको समेत प्रदर्शन गरिन्छ । छेलो जित्नेलाई बर्षभरि त्यसक्षेत्रका सवैभन्दा शक्तिशाली ब्यक्तिको उपाधि दिईन्छ । ‘ताङतिङको चैत्र मेला भनेपछि मानिसहरु हुरुक्कै हुन्छन्, ‘क्लवका अध्यक्ष डिल्लीजंग गुरुङले भने ‘त्यसैले त मेलामा गाउँगाउँका वासिन्दा १२ घण्टा हिँडेरै भएपनि आउँछन् ।’ उनले ताङतिङलाई पर्यटकीय गन्तब्य बनाउनका लागि प्रचारप्रसार गर्न, स्थानीय कला संस्कारसंस्कृतिका संरक्षण र सम्बद्र्धन गर्न साथै पर्यटन प्रवद्र्धनका लागि मेलाको आयोजना गर्दै आएको वताए । कला, संस्कार र सँस्कृतिको जगेर्नामा पनि युवा तन्नेरीहरु लगिपरेकाछन् ।

५० लाख रुपैँयाको ‘ताङतिङ ट्रष्ट’ स्थापना
ताङतिङ गाउँमा आयोजना गरिएको चैत्रमेला २०७० मा ताङतिङ ट्रष्टका लागि झण्डै ५० लाख रुपैँया बढी संकलन भएको छ । २४ बर्षदेखि आयोजना हुँदै आएको मेलालाई यसवर्ष २५ औँ पटक आयोजना गरि रजत जयन्तीको रुपमा मनाउनुका साथै गाउँमा रहेको शिशु स्याहार केन्द्र संचालनका लागि स्थानीयले ताङतिङ ट्रष्ट अर्थात अक्षयकोषको स्थापना गरेका हुन् ।
मेलामा स्थापना गरिएको अक्षयकोषका लागि सबैभन्दा बढी रकम बेलायतमा बसोबास गर्दै आएका ताङतिङ्गेले सहयोग गरेकाछन् । बेलायती सेनाका भूपूहरुको सक्रियतामा बेलायतमा बसोबास गर्ने ताङतिङ्गेहरुले ताङतिङ ट्रष्टका लागि २५ लाख ९४ हजार ५ सय ११ रुपैँया हस्तान्तरण गरेको छ । ताङतिङ–युके समाजका अध्यक्ष केशबहादुर गुरुङले क्लवका अध्यक्ष डिल्लीजंग गुरुङ, सल्लाहकार बेदबहादुर गुरुङ ‘श्याम’ र आर्थिक संयोजक राजेश गुरुङलाई चेक हस्तान्तरण गरेका हुन् । सो रकम समाजका तर्कजंग गुरुङको अगुवाईमा संकलन गरिएको हो । अक्षयकोषका लागि हङकङबाट ४ लाख ८४ हजार रुपैँया, मलेसियाबाट ३८ हजार, युएई दुबईबाट ३६ हजार, साउदीबाट १० हजार रुपैँया बढी प्राप्त भएको आयोजकले जनाएको छ । अक्षयकोषका लागि रकम आउनेक्रम जारी छ ।
अक्षयकोषका लागि ब्यक्तिगत रुपमा पोखरामा रहेको ताङतिङका वासिन्दाको समाज दूधपोखरी तमू समाजका विभिन्न ब्यक्तित्वहरुले समेत सहयोग गरेका ताङतिङ युवा क्लवका अध्यक्ष डिल्लीजंग गुरुङले जानकारी दिए ।

साँस्कृतिक, ऐतिहासिक र प्रकृतिले धनी
गुरुङ गाउँहरु प्रायः सँस्कृतिका धनी छन् । यसमा पनि ताङतिङ गाउँ विशेषले धनी गाउँमा चिनिन्छ । गुरुङ समुदायको संस्कार, संस्कृतिको दृष्टिकोणले ताङतिङ गाउँ एक साँस्कृतिक÷ऐतिहासिक गाउँ हो ।
      गुरुङहरुको शास्त्र अर्थात प्येमा उल्लेख भएअनुसार गुरुङको पुर्खा मध्ये आपा करपाले आफ्नो वस्ती वसाल्नका लागि ठाउँहरु खोज्नेक्रममा हालको ताङतिङ गाउँमाथि रहेको क्रबु डाँडामा आई आफ्नो खुकुरीको वाण हान्दा सिक्लेसको वेसी आरगुईमा गढेको इतिहास छ । खुकुरीको बाँडले गढेको ठाउँबाट आफ्नो ठाउँ बसाल्ने बाचा अनुसार तत्काल २६ धुरी स्थापना गरि बसालिएको गाउँमा हाल २ सय बढी घरहरु छन् । ताङतिङका गुरुङ पुरोहित पच्यू चिवा बेलबहादुर गुरुङका अनुसार वाण गढेको ठाउँ आरगुईमा अहिले वाणको रुपमा ठूलो ढुंगा रहेको छ, जुन ढुंगालाई सजिलै हल्लाउन सकिएपनि उखेल्न भने सकिन्न । सँस्कृतिको रुपमा पच्युघ्याब्रेको नृत्य, कृष्णचरित्र, सोरठी, सेर्का अर्थात छ्याँडू साथै विभिन्न झाँकीहरु ताङतिङ गाउँमा देख्न सकिन्छ ।
अन्नपूर्ण हिमालको काखमा रहेको ताङतिङ गाउँ निकै सुन्दर छ । विहान उठ्नेवित्तिकै ओछ्यानबाटै अन्नपुर्ण, माछापुच्छ«े र लमजुङ हिमाललाई हेर्न पाउँदा जो कसैको मन फुरुङ्ग हुन्छ । गाउँका वनपाखाहरुमा यतिबेला लालीगुराँसहरु देख्न सकिन्छ । केही महिनापछि देखिने हरियालीले गाउँको सुन्दरता झन थप्ने गाउँलेको भनाई छ । गाउँलाई भौतिक संरचनाको रुपले वडा १ देखि ५ सम्म विभिन्न टोलहरुले नामाकरण समेत गरिएको वडा नम्बर वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष एवं तमू प्ये ल्हू संघ युएई शाखाका अध्यक्ष एक्कजंग गुरुङले वताए ।

पर्यटकीय गन्तब्य बन्दै
२ सय बढी घरधुरी रहेको ताङतिङ पुगेपछि सवैलाइ गाउँलेको स्वागतले लठ्याँछ । गाउँलेलाई खबर गरेर गएमा गाउँ नजिकैको गेटसम्म स्थानीयले पञ्चेबाजाका साथ लिन आउँछन् । त्यसपछि गाउँमा लगेर होमस्टेमा राख्ने चलन छ पर्यटक÷पाहुनालाई । गाउँमा आउने पर्यटकलाई मध्यनजर राखेर २० घरमा होमस्टे संचालनमा ल्याईएको छ । यी मध्ये १७ घरका होमस्टे त पर्यटन कार्यालयमा दर्ता भईसके । ‘गाउँमा आउने पर्यटकलाई हामी गाउँकै अर्गानिक उत्पादन खुवाउँछौँ’ होमस्टे ब्यवस्थापन उपसिमतिका अध्यक्ष दुजाकुमारी गुरुङले भनिन्, ‘शहरका खानेकुराहरु गाउँमा पाइँदैन, हामी गाउँमै उत्पादन ढिँडो, सिस्नो, गुन्द्रुक, भट्टा, लोकल कुखुरा र लोकल रक्सी खुवाउँछौँ ।’  
होमस्टे साथै ताङतिङको ग्रामीण पर्यटनमा नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, ट्रेकिङ एजेन्सीज एसोसिएसन नेपाल लगायत संघसंस्थाको मुख्यतः प्राविधिक सहयोग छ । नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराले होमस्टे ब्यवस्थापनमा सहयोग पु¥याउनका साथै होमस्टे संचालकहरुलाई तालिम समेत प्रदान गरेको छ । ‘अब होमस्टे संचालकहरुलाई हामी सरसफाई र पर्यटन प्रवद्र्धनका लागि थप सहयोग गर्छौँ’ नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराकी प्रमुख श्रद्धा श्रेष्ठले भनिन्, ‘यसका लागि पहिलो कार्यक्रम सरसफाईका लागि डस्वीन वितरण गर्ने योजना बनाएका छौँ ।’
गाउँमा अहिले पर्यटकहरुको स्वागतका लागि स्वागत प्रवेशद्धारा निर्माण गरिएको छ । वडा ४ का एक्कजंग गुरुङ र उनकी श्रीमती जमुना गुरुङ, भाइ रण वहादुर गुरुङ र उनकी श्रीमती नौमाया गुरुङ साथै छोरीहरु धन कुमारी गुरुङ, दिलमाया गुरुङ र खुशी गुरुङले आफ्ना बुवा धनबहादुर गुरुङ ८४ बर्ष पुगेको खुसीयालीमा साढे २ लाख रुपैँया खर्च गरि स्वागत प्रवेशद्धारा निर्माण गरेका हुन् । ‘गाउँमा अहिले निकै परिवर्तन आएछ’ केही बर्षअघि २ महिनासम्म गाउँकै हिमालय माविमा स्वयंसेवकको रुपमा काम गरेकी अमेरिकी नागरिक कोर्थे सानले भनिन्, ‘गाउँका युवा तन्नेरीहरु निकै सक्रिय छ ।’ नेपाली नाम सपना गुरुङ वताउने कोर्थेले युवाहरु एक हुने हो भने गाउँको विकास निर्माण र सामाजिक क्रान्ति ल्याउने वताईन् ।
गाउँमा शहरको जस्तो लोडसेडिङ पनि छैन । दिनको ३ घण्टा विश्रामबाहेक निरन्तरको विद्युतले पनि ताङतिङ गाउँको उज्यालोमा पर्यटकहरु रमाउने गर्छन् । गाउँमा झण्डै साढे १ दशकदेखि २७ किलोवाट क्षमताको विद्युत उत्पादन भईरहेको छ । युवाहरुको सक्रियतामा टोलैपिच्छे सामुदायिक भवन बनेकाछन् । पर्यटन प्रवद्र्धनका लागि गुम्बा समेत निर्माण भएको छ ।

कसरी पुग्ने ताङतिङ ???
पर्यटकीय नगरि पोखरा । पोखराको काउँखोलाबाट हरेक दिन बस र जीप समय मिलाएर ताङतिङ गाउँ नजिकै पुग्छ । काउँखोलाबाट ताङतिङ फेदी चाँसुसम्म १ देखि साढे १ घण्टाको बस अर्थात जीप यात्रा । त्यसपछि ५४ मिनेटको बस अर्थात जीप यात्रापछि ताङतिङ वेसी पुगिन्छ । अहिले गाउँ नजिकैसम्म जीप पुगेकाले गाउँ जान १५ मिनेटमात्रै हिँडे पुग्छ ।
२०५० सालदेखि गाउँसम्म सडक पु¥याउन स्थानीयवासिन्दा लागिपरेका थिए । शुरुमा काउँखोलादेखि चाँसुसम्म मोटरबाटो ल्याउन स्थानीयले धेरै श्रमदान र खर्च गरे । दुधपोखरी ग्रामीण सडक अन्तरगतकै चाँसुदेखि गाउँ नजिकैसम्म मोटरबाट बनाउन स्थानीयले रातदिन खटेको स्थानीय समाजसेवी बेदबहादुर गुरुङ ‘श्याम’ले वताए । ‘मोटरबाटोका लागि अपर मादी जलविद्युत आयोजनाले केही सहयोग ग¥यो’ गुरुङ चलचित्रका निर्माता÷निर्देशक समेत रहेका श्यामले भने, ‘गाउँमा मोटरबोट पु¥याउन हामीले रातदिन र भोकप्यास केही भनेनौँ ।’ गाउँसम्म मोटरबाटो पु¥याउनका लागि अझै कम्मर कसेर लाग्नुपर्ने उनको भनाई छ ।
अहिले पोखराबाट ताङतिङ हुँदै दूधपोखरी–नामुनभञ्ज्याङदेखि मनाङसम्मको पदयात्रा मार्गको पहिचान गरिसकिएको छ भने ताङतिङबाट थुर्जु हुँदै लमजुङको पर्यटकीय भुजुङ–घलेगाउँसम्म समेत जान सकिन्छ । यस्तै, भुजुङबाट थुर्जु हुँदै ताङतिङ–सिक्लेस भएर पोखरा जान समेत सकिन्छ ।

यो मन त मेरो ताङतिङ्गे हो.......
ताङतिङ छोडेर विदेश गएका स्थानीय समेत बर्षमा १ पटक आफ्नो गाउँ फर्कन्छन् । ताङतिङ मेलाको रजत जयन्तीमा विशेगारि बेलायतमा बसोवास गर्दै आएका स्थानीय गाउँ फर्के । ताङतिङ युके समाजका अध्यक्ष केशबहादुर गुरुङले गाउँको मायाले गाउँ फर्केको वताए ।
      यसपटक संयुक्त राष्ट्रसंघको सुडानस्थित मिशन कार्यालयमा कार्यरत जीत गुरुङ, युके जनसम्पर्क समितिका सहमहामन्त्री तर्कजंग गुरुङ, ताङतिङ हङकङ समाजका पदमबहादुर गुरुङ, तमू प्येल्हूसंघ युएईका अध्यक्ष एक्कजंग गुरुङ लगायत गाउँ फर्के । उनीहरुले गाउँको बाटोघाटो, पानीपँधेरो, शिशुस्यहार, विद्यालय निर्माण तथा मर्मतका लागि सहयोग गरेकाछन् । ‘गाउँको मायाले छुट्टी मिलाएर आएँ’ चैत्रमेलामा भेटिएका जीत गुरुङले भने, ‘परिवार बेलायतमा छन्, सुडानमा कार्यरत म बिदा मिलाएर गाउँ फर्केँ ।’ गाउँको मेलाका लागि उनीहरुले २ सातादेखि एक महिनासम्मको विदा मिलाएर आएका हुन् । 






Posted by Unknown on 8:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जागे ताङतिङका तन्नेरीहरु"

Leave a reply