|

गुरुङ जातिको उदगमस्थल क्होला सोंथरको फोटो प्रदर्शनी काठमाडौंमा |

फोटो प्रदर्शनी अवलोकन गर्दै अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइट
गुरुङ जातिको उदगमस्थल क्होला सोंथरको फोटोप्रदर्शनी बुधबारबाट काठमाडौंमा सुरु भएको छ । गुरुङ जातिको सभ्यता र संस्कृतिको उद्गम स्थल तथा बिकास भएको क्होला सोंथरकोबारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गरिएको हो । लमजुङ र कास्की जिल्लाको नामार्जुङ गाबिस ताङतिङगाउँको    सिमानामा रहेको क्होला सोंथरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने उद्देश्यले गरिएको फोटो प्रदर्शनीमा श्रममन्त्री मा. टेकबहादुर गुरुङ, राष्टकवि माधवप्रसाद घिमिरे लमजुङ क्षेत्र नं. १ का सभासद मा. जमिन्द्रमान घले, तमू ह्युल छोंज धीं गुरुङ राष्टिय परिषदका अध्यक्ष रेशम गुरुङ, पूर्व मन्त्री मा. तोरणबहादुर गुरुङ, नेपालका लागि अस्टेलियाका राजदूत ग्लेन हाइट लगायत विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवाहरुको भेला रहेको थियो । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा बिहीबारसम्म चल्ने प्रदर्शनीमा क्होला सोंथर पुगेर खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका छन् । त्यस प्रदर्शनीको उदघाटन गर्दै राज्यमन्त्री गुरुङले क्होला सोँथरको प्रबद्र्धन र प्रचारप्रसार गर्न अब राज्यले नै पहल गर्ने बताउनुभयो । क्होसोंथरलाई प्रबद्र्धन गर्न सके बेसीशहर–चामे सडकको वैकल्पिक पदमार्ग निर्माण गर्न सकिने उहाँले बताउनुभयो । यसैगरी, राष्ट्रकवि माधवप्रसाद घिमिरेले फोटो प्रदर्शनीले संस्कृति र सम्पदा बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।


 तमू ह्युल छोंज धीं गुरुङ राष्टिय परिषदका अध्यक्ष रेशम गुरुङले मुस्लिमहरुको मख्खामदिना जस्तैगरी गुरुङहरुको पैतृक तिर्थ भूमीको रुपमा क्होला सोंथरलाई बिकास गर्न सके पर्यटन र बिकासले नयाँ फड्को मार्न सक्ने ठोकुवा गर्दै त्यसतर्फ सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री तोरणबहादुर गुरुङले पहिचान र अधिकारको मुद्दा उठिरहेको वर्तमान परिवेशमा क्होला जस्तो ऐतिहासिक थलोको बारेमा प्रचार प्रसार गरे पहिचानको मुद्दालाई स्थापित गर्न सजिलो हुने भन्दै त्यसको संरक्षणको दायित्व राज्यको पनि हुनुपर्नेमा जोड दिए । लमजुङ क्षेत्र नं. १ का सभासद तथा नेकपा एमालेका नेता जमिन्द्रमान घलेले आफू त्यही क्षेत्रको जनताको प्रतिनिधि भएरपनि त्यस स्थलमा जान ढिला भईरहेकोप्रति पछुतो मान्दै छिट्टै त्यसको संरक्षण र बिकासको लागि अधिकतम पहल गर्ने बताउनुभयो । तमु (गुरुङ) जातिको ऐतिहासिक उद्गमस्थल “क्होला सोंथर” गुरुङहरुको तत्कालिन राजधानी हो । ‘आजभन्दा करिब ११ सय बर्ष पहिले क्होला सोँथरमा गुरुङका घले राजाहरुले राज्य संचालन गरेको र सोही ठाउँबाटै गुरुङ सभ्यताको प्रारम्भ भएको मानिन्छ,’ राप्रपाका केन्द्रीय सहायक महामन्त्री एवं जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हेमजङ गुरुङले भन्नुभयो, ‘क्होला सोँथरबाटै गुरुङहरु लमजुङको घनपोखरा, भुजुङ, घलेगाउँ, सिउरुङ तथा कास्कीको सिक्लेस तथा ताङतिङ हुँदै देशका विभिन्न गाउँ बस्तीहरुमा बसाईंसराईं गरेको भन्ने मान्यता छ ।’ उहाँका अनुसार, क्होला सोँथरको ऐतिहासिक एवं पुरातात्विक महत्वबारे अध्ययन, अनुसन्धान गर्न पुरातव्य विभाग र बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले सन् २००० मा क्होला सोँथर क्षेत्रमा उत्खनन कार्य गरेको थियो ।

 प्रदर्शनीमा क्होला सोँथरमा गुरुङ घलेराजाको दरबार (म्रुधीं), छोंज धीं, कोइबों धी, रोधीं लगायत ११ सय बर्ष पुरानो बस्तीको अवशेषसहित लमजुङको पर्यटकीयस्थल घनपोखरा, घलेगाउँ, भुजुङ, सिउरुङसहित गुरुङ जातिको कला र संस्कृति झल्कने विभिन्न फोटोहरु प्रदर्शनीमा राखिएको छ । आयोजक समितिका अध्यक्ष रिखीप्रसाद गुरुङले पुरातात्विक एवं ऐतिहासिक महत्व भएको क्होला सोँथरमा गुरुङ जातिबारे अध्ययन तथा अनुसन्धान गर्न र प्राकृतिक मनोरम दृश्यावलोकन गर्ने नयाँ गन्तव्यको रुपमा विकास, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न घनपोखरा समाजले विस्तृत योजना बनाएको छ । सडक यातायातको विकाससँगै लमजुङ जिल्लाबाट सुरु भएर मनाङ–मुस्ताङ हुँदै पोखरासम्मको २९ दिने प्रख्यात अन्नपूर्ण पदयात्रा मार्ग विस्थापित हुने अवस्थामा रहेकाले वैकल्पिक पदमार्ग एवं नयाँ पर्यटकीय गन्तव्यका रुपमा क्होला सोँथरलाई विकास गर्न सकिने आयोजकको विश्वास छ । लमजुङ सदरमुकाम बेसीशहरबाट घलेगाउँ, घनपोखरा, हुँदै क्होला सोँथर पुग्ने र त्यहाँबाट पश्चिमतर्फ कास्कीको ताङतिङ ९नामार्जुङ०, सिक्लेसबाट पोखरा जाने तथा उत्तरतर्फ ठूलो लेक, दुधपोखरी, नामुनभन्ज्याङ, पारगरी, मनाङको तिमाङ जाने नयाँ पर्यटकीय पदमार्गको निर्माणका लागि जिविस लमजुङ र मनाङ, नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० तथा टानले संयुक्त रुपमा पहल गरिरहेको छ ।
फोटो प्रदर्शनीमा पत्रकार गगन विष्ट र गणेश पाण्डेलाई सम्मान 

Posted by Unknown on 8:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गुरुङ जातिको उदगमस्थल क्होला सोंथरको फोटो प्रदर्शनी काठमाडौंमा |"

Leave a reply