|

लमजुङ जिल्लाको घलेगाउँमा ‘खेकीचोकी’ भेला

आश गुरुङ, , असोज १४ गते ।
सार्क राष्ट्रको नमुना गाउँ लमजुङको घलेगाउँमा एकविहानै गुरुङ जातिमा मर्दापर्दा चाहिने विशेष ब्यक्तिहरु जम्मा भए । गुरुङ जातिको जन्म, बिवाह र मृत्यु संस्कारमा घ्याब्रे (क्ल्हेप्री, ल्हौरी), पच्यु र पैँडी चाहिन्छ । घ्याब्रेपच्युले प्ये अर्थात शास्त्र मन्त्राएर विवाह र मृत्युका संस्कार गर्ने र पैँडीले पुरोहितको काम गर्ने गर्छ । तिनै ब्यक्तिहरु लमजुङको घलेगाउँस्थित क्होइँपो धीँमा पुगे र छलफल गरे ।
बृहत ‘खेकी, चोकी’ भेला एवं प्रशिक्षण कार्यक्रम नाम दिईएको कार्यक्रममा गुरुङ जातिको भाषा, धर्म, कला र संस्कारसंस्कृतिबारे छलफल गरिएको थियो । भाषा र कलामा त्यति धेरै भिन्नता नरहेपनि संस्कारसंस्कृति र धर्मबारे गुरुङ समुदायमा एकरुपता हुन नसकेको औँल्याईएको थियो । ‘गुरुङ जातिको धर्म र संस्कारमा विकृतिविसंगति फैलिँदै गएको छ’ युवा पैँडी एवं मानवशास्त्रका विद्यार्थी पोलबहादुर गुरुङ भन्दै हुनुहुन्थ्यो ‘धर्म र संस्कारसंस्कृतिलाई एकरुपता ल्याउन पनि खेकीचोकी भेला आयोजना गर्नुपरेको हो ।
   फोटो  : आश गुरुङ

गुरुङ समुदायमा कसैको मृत्यु भएपछि अन्त्येष्टि गरिएपनि पए अर्थात अर्घुं गर्नुपर्ने हुन्छ । मृतक ब्यक्तिको नाम पुकारी उनीहरुको खेमाँ अर्थात पुर्खालाई शास्त्रमार्फत भेटाईदिने काम खेकीले गर्छ । अनि पुरोहितसंग बसेर उनीहरुले गरेका पाठको अध्ययाय, सरसामान वा प्ये ताँ ल्हू ताँ अर्थात सँस्कारसंस्कृतिलाई शास्त्रमार्फत सुनाउने, पुरोहितलाई सही मार्गमा निर्देश गराउने काम चोकीले गर्ने गर्छ । हरेक गुरुङ जातिले खेकीचोकीलाई बोलाएर संस्कारका कामहरु गर्नुपर्ने भएपनि विस्तारै यो परम्परा हराउँदै गएकाले भेला र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको समन्वयकर्ता संस्था तमु प्ये ल्हू संघ युएई शाखाका उपाध्यक्ष एवं कार्यक्रमका प्रायोजक मुक्ति गुरुङले बताउनुभयो ।

कार्यक्रममा युवा पैँडी पोलबहादुर गुरुङले ‘गुरुङ समुदायमा विकास भएका पहिचानहरु र ऐतिहासिक यथार्थता’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै धर्म निरपेक्ष राष्ट्र भएपनि गुरुङ जातिले आफ्नो संस्कारसंस्कृतिलाई जोगाउन एउटै धर्ममा विश्वास गर्नुपर्ने बताउनुभयो । ‘हामी प्रकृतिका पुजारी हौँ, त्यसैले हाम्रो धर्म वोन हो’ उहाँले भन्नुभयो, प्रकृतिका पुजारीले प्रकृतिको पूजा गर्नुपर्छ ।’ राज्यले धर्मलाई छनौट गर्न लगाउँदा ‘वोन’ धर्मलाई छनौटमा नराख्ने र राष्ट्रिय जनगणना लगायतका महत्वपूर्ण तथ्याङ्कहरु संकलन गर्दा समेत यसलाई उल्लेख नगरेकोप्रति उहाँले आक्रोस पोख्नुभयो । उहाँले विगतमा गुरुङ समुदाय, सामाजिक संरचना, अन्य जाति र धर्मको प्रभाव, आजको गुरुङ समुदाय र अब गर्नुपर्ने अभिभाराको बारेमा कार्यपत्रमा उल्लेख गर्नुभएको थियो ।
तमू प्ये ल्हु संघ पोचुकोँ क्होइपो धीँ दसथरको आयोजना र तमू प्ये ल्हु संघ युएई शाखाको समन्वय र प्रायोजनमा सोमबार आयोजना गरिएको कार्यक्रममा उपस्थितले धर्म निरपेक्ष राष्ट्र भएपनि गुरुङ जातिले घ्याब्रेपच्युबाट नै आफ्नो संस्कार गर्नुपर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा उत्तरप्रेरित तिब्बतीयन लामा तथा दक्षिणप्रेरित ब्राम्हण पुरोहितबाट भन्दा पनि घ्याब्रेपच्युबाट आफ्नो संस्कार गर्नुपर्ने उनीहरुको भनाई थियो । तमु ह्युला छाँेज धीँ गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष एवं तमु प्ये ल्हु संघ पोँचुकोँ क्होइँपो धीँ दसथर लमजुङका सल्लाहकार अध्यक्ष प्रेम घलेले घ्याब्रेपच्युमात्रै गुरुङ समुदायको साँस्कृतिक धरोहर भएको बताउनुभयो । तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले गुरुङ समुदायमा अन्य जाति र धर्मको प्रभाव परेको भन्दै प्रकृतिका पुजारी गुरुङ अन्य धर्मतर्फ उन्मुख नभई आफ्नो वोन धर्म अर्थात प्रकृतिप्रति विस्वास राख्नुपर्नेमा जोड दिनुभयो ।
                                      फोटो आश गुरुङ
‘शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ र संस्कृति हराए मान्छे अर्थात जातिय अस्तित्व हराउँछ’ भन्ने उक्ति गुरुङ समुदायमा रहिआएको छ । त्यसैले तमु प्ये ल्हू संघले देशविदेशमा आफ्ना शाखा खडा गरी आफ्नो भाषा, धर्म, कला र सँस्कारसंस्कृतिको संरक्षण र संवद्र्धन गर्ने कार्य गरिरहेको प्ये ल्हू संघले दावी गरेको छ । तमु प्ये ल्हुसंघको तमु प्येछ्या ल्हूताँ लेखन उपसमितिका संयोजक एवं संस्कृतिविध लेफ्टिनेन्ट ईन्द्रबहादुर गुरुङले अरुको धर्म र संस्कारसंस्कृतिलाई अबलम्बन गर्दै गाएमा गुरुङ जातिको अस्तित्व एकदिन गुम्ने निश्चित भएको भन्दै गुरुङ समुदाय धार्मिक रुपमा पनि एक हुनुपर्ने बताउनुभयो ।
     
                                             फोटो  :आशगुरुङ

टु घ्याब्री समाजका केन्द्रीय अध्यक्ष कृष्णबहादुर गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिका अध्यक्ष सिर्जना गुरुङ, गुरुङ चलचित्रका निर्देशक मनोज गुरुङ, ऐतिहासिक तमु संग्रहालयका कोषाध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, घाँटु गुरु लिलाबहादुर घले लगायतले गुरुङ जातिको धर्म र संस्कारसंस्कृतिमाथि हस्तक्षेप नगर्न अन्य समुदायलाई चेतावनी दिएका थिए । आयोजक तमु प्ये ल्हु संघ पोचुकोँ क्होइपो धीँ दसथरका अध्यक्ष सुेवेदार खड्कजंग गुरुङले खेकीचोकी भेलालाई देशब्यापी रुपमा गरिएमात्र गुरुङ समुदायको चेत खुल्ने बताउनुभयो । यसैका लागि पनि घलेगाउँको क्होइँपो धीँमा कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । लमजुङमै पहिलोपटक आयोजना गरिएको कार्यक्रमलाई स्थानीयले समेत नौलो र रोचक तरिकाले अवलोकन गरे ।


       
                             फोटो आश गुरुङ

कार्यक्रममा उत्तरकन्या, भुजुङ, घनपोखरा, मालिङ, वाग्लङपानी, खुदी, नाल्मा गाविसका खेकीचोकी, घ्याब्रेपच्यु गुरु साथै पैँडीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा घ्याब्रेपच्युको संस्कारिक नाच समेत देखाईएको थियो । कार्यक्रमलाई तमु प्ये ल्हु संघ युएई शाखा, शाखाका उपाध्यक्ष मुक्ति गुरुङ र बेसीशहर घर भई हाल अमेरिकामा रहनुभएका एनबी गुरुङले प्रायोजन गर्नुभएको थियो ।  यसअघि तमु प्ये ल्हु संघ युएई शाखाका अध्यक्ष एक्कजंग गुरुङको अगुवाईमा कास्कीको सिक्लेस र ताङतिङमा वृहत खेकीचोकी भेला गर्नुका साथै अन्तरक्रिया गरिसकिएको छ । युएई शाखाकै साँस्कृतिक संयोजक महेश गुरुङको अगुवाईमा तमू प्ये ल्हु संघ केन्द्रीय युवा समितिले लमजुङको पसगाउँ, भुजुङ लगायतका गाउँहरुमा साँस्कृतिक जागरण कार्यक्रम समेत प्रस्तुत गरिसकिएको छ ।


Posted by Unknown on 7:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लमजुङ जिल्लाको घलेगाउँमा ‘खेकीचोकी’ भेला "

Leave a reply