|

सोल्टी र सोल्टिनीले यसरी रुवाए दर्शकलाई

आश गुरुङ
लमजुङ, पुस २३  –‘ए साइँली माइली, खोइ सोल्टीहरु त अहिलेसम्म आइपुगेनन्’ केटीहरु कुरा गर्दै थिए ।
अर्कीले जिस्क्याइन् ‘आउँदै होलान् नि, साह्रै भेट्न मन लाग्यो कि क्या हो ।’ एकैछिनमा केटाहरु आइहाले ‘आयौं हो सोल्टिनी आयौं, आरामै हुनुहुन्छ ?’
‘अब भोली लाहुर गइहाल्नु हुन्छ, बसौं न एक छिन’ सोल्टीनीले यस्तो आग्रह गरेपछि शुरु हुन्छ ठाडो भाकाको गीत ‘कैलाशबाट जोगीमा मा झर्‍यो काँधैमा त्रिशुल ।’
अनि झ्याउरे गीतमा सुरु हुन्छ सोल्टी र सोल्टिनीको माया पिरतीका कुरा । करिब ८ मिनेटको गीतमा
‘सलल बगेको भेरी नदी उर्लँदै कर्णालीमा भेल’
मै बुझ्न सकिन जीन्दगीमा ए हजुर पिरतीको खेल’
यस्ता टुक्काहरु धेरै पटक ओहोर दोहोर भए ।  मंगलवार सदरमुकाम वेसीशहरको तमु संग्रहालय प्राङ्गणमा भुजुङका कलाकारले देखाएको नाच हेर्दै गरेका दर्शकहरु एकाएक भाबुक बने ।
‘सोल्टीनी रातभरि गाइयो, नाचियो अब मिर्मिरे पनि हुन लाग्यो, भालेको डाँकोमा देउराली काट्नुपर्ने ।’
सोल्टीको कुरो सुनेर साइँली रुन थाल्छिन्ः
‘पूर्व लाली झन चढ्यो, छुट्ने बेला भैगयो, मुटु छिया पर्‍यो मायालु’
दर्शकहरु पनि सँगसँगै आशु खसाल्छन् । ‘कलाकारको कलाले आँशु झर्‍यो’ वेसीशहरका समाजसेवी क्याप्टेन मिलबहादुर गुरुङले भन्नुभयो ‘आफ्नै गाउँमा यस्तो कलाकारहरु छन् भन्ने कुरा मैले सोँचेकै थिएन ।’ कार्यक्रमका प्रमुख अतिथि तमू ह्यूला छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य टकमाया गुरुङले समेत आँसु चुहाउनुभयो ।
लाहुर जान लाग्दा एउटा प्रेमी र प्रेमिकाको कथालाई समेटिएको गीतमा गरिएको नृत्य र अभिनयबाट पुरुषहरु भन्दा धेरै महिलाहरु रोए ।
यसरी नृत्य देखाउने लालीगुराँस युवा क्लबका कलाकारहरु प्रथम भएर नगद १० हजार रुपैँया पाए ।
गो गीतमा नृत्य देखाउने कमलबहादुर गुरुङ सदरमुकाम वेसीशहरको जनविकास उच्च माविमा कक्षा १२ र सुस्मिता गुरुङ गाउँकै त्रिभुवन विद्याश्राम माविमा कक्षा ८ मा पढ्छिन् ।
‘उनीहरुको कला कुनै पर्दाको कलाकारको भन्दा कम लागेन’ नृत्यका मुल्याङ्कनकर्ता मनोज गुरुङ भन्दै थिए ‘यति सानी बहिनीको कलाले मलाई प्रभावित बनायो ।’

Posted by Unknown on 11:31 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सोल्टी र सोल्टिनीले यसरी रुवाए दर्शकलाई"

Leave a reply