|

पोखरामा नयाँ युरो–थ्री मापदण्डका नगर बस गुड्दै,


रञ्जन अधिकारी
पोखरा, २९ माघ/केहि महिना अघि राष्ट्रिय चर्चाकै विषय बन्यो विन्दबासिनी यातायात बस व्यवसायी समितिले स्तरीय बस भित्राएर पनि रुट पर्मिट नपाएको प्रंसग । सडकमा गुड्न २१ ओटा बस तयार बनाएर रुट पर्मिटका लागि भौंतारिएका समिति पदाधिकारीलाई स्थानीय प्रशासनको समेत साथ मिलेन । भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्रालयले समेत गाडीहरु संचालनमा ल्याउन सक्ने गरी स्वीकृति दिईसकेको अवस्थामा रुट ईजाजत नपाएपछि विभिन्न चरणमा आन्दोलनमा उत्रेको समिति अन्ततः अहिले चुपचाप अवस्थामा छ ।स्तरीय बस पनि नल्याउने र नयाँ बस पनि भित्रिन नदिने भन्दै पोखरा बस व्यवसायी समितिको नागरिक स्तरमा ब्यापक आलोचना भयो र पोखराको यातायात क्षेत्रमा एकाधिकार जमाएको समितिलाई सिण्डिकेट लाद्न खोजेको आरोप लाग्यो । यात्रुहरुले पैसा तिरेपछि सोहि अनुसारको सुविधा पाउनुपर्छ भन्दै नयाँ समितिले नगरमा नयाँ बस ल्याउन लागेपछि पोखरा बस व्यवासाय समिति स्तरीय सेवा प्रदान गर्न लागिपरेको हो । समितिले फागुनको पहिलो सातादेखि युरो–३ मापदण्डका स्तरीय नगर बस सञ्चालनमा ल्याउने भएको छ ।

सरकारले २० वर्ष पुराना बसहरू सहरी क्षेत्रबाट विस्थापन गर्नुपर्ने प्रावधान ल्याए पनि पोखराको हकमा यातायात व्यवस्था कार्यालय गण्डकीले १५ वर्षपछि पुराना सवारी साधनहरूलाई विस्थापन गर्ने नीति ल्याएकोमा समितिले १२ वर्ष पुराना बस नै विस्थापन गरेर हरियो रंगका नयाँ बस संचालनमा ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको छ ।

पर्यटकीय नगरी पोखरामा प्रदूषण कम गराउन भन्दै सन् २००१/०२ मा पोखरामा सञ्चालनमा आएका २० वटा बस विस्थापन गरी नयाँ मोडलको युरो–३ मापदण्डका साझा बसको अवधारणामा बस संचालन सुरु गर्न लागेको समितिका अध्यक्ष महाप्रसाद सुवेदीले जानकारी दिए । पोखरामा २ सय ५१ ओटा बस संचालन रहेकोमा संख्या नबढ्ने गरी विस्थापित २० बसको ठाउँमा यूरो–३ मापदण्डका स्तरीय बस थपिएका हुन् । ती बस थपिँदा पोखरामा ८ करोड बढी बसमा लगानी थपिएको छ

अध्यक्ष सुवेदीले भने “समितिले अब क्रमशः पुराना गाडीहरु विस्थापन गर्दै लैजाने नीति लिएको छ । विस्थापित बसको स्थानमा हरियो रंगका नयाँ सुविधायुक्त बस राख्नेछौं । पोखरामा हाल गुडिरहेका सबै गाडीहरु विस्तारै हरियो रंगका हुनेछन् ।” पुराना बसका लागि व्यवसायीले बढिमा २० लाख लगानी गर्ने गरेकोमा अब भने कम्तिमा ४० लाख लगानी गर्नुपर्ने हुन्छ ।

कास्कीको सिक्लेसमा चल्ने गरी तीनओटा फोर ह्विल गाडी र १७ ओटा हरियो रंगको ३० सिट क्षमताका २५ फिटे लामो बस संचालनको तयारीमा रहेको छ । ती बस स्वचालित ढोका (हाइड्रोलिक) जीपीएस प्रविधि र सीसी टिभी क्यामरा र एलसिडी मोनिटर जडित भएकाले बसमा हुन सक्ने लुटपाट तथा आपराधिक घटनालाई समेत न्यूनीकरण गर्न सकिने गुरुङले बताए । उनका अनुसार नयाँ बसहरुमा टिकट सिष्टम लागू गर्ने तयारी पनि भईरहेको छ ।

दशैंमा नै नयाँ मोडलका बसहरू सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणवश बस निर्माण हुन ढिलाई भएकाले चार महिना पछाडी धकेलिएको समितिका उपाध्यक्ष क्षेत्रबहादुर रानाले बताए । तीन दिन भित्र नै बसका चालक तथा सहचालकहरुलाई दुई हप्ते तालिम प्रदान गरिने उनले बताए । चालकलाई पहेंलो र सहचालकलाई हरियो रंगको समितिको लोगोअंकित पोशाकको व्यवस्था गरिएको छ । समितिका अनुसार चालक र सहचालकले अनिवार्य परिचयपत्र लगाउनुपर्नेछ ।

बसहरुमा जीपीएस प्रविधि जडान:
पोखरा बस व्यवसायी समितिले आफ्ना बसहरुमा जीपीएस (ग्लोबल पोजिशनिङ सिष्टम) प्रविधि जडान गर्ने भएको छ । यसको परीक्षण स्वरुप करिब एक दर्जन बसहरुमा यस प्रविधि जडान गरिसकिएको उपाध्यक्ष क्षेत्रबहादुर रानाले जानकारी दिए । नयाँ सबै २० ओटा बसमै सो प्रविधि जडान हुनेछ भने पुराना बसहरुमा पनि विस्तारै जडान गरिने उनले बताए । कन्ट्रोल रुम र गाडीमा रहने जीपीएस डिभाईसको कनेक्शनबाट कुन बस कहाँ ? कुन रुटमा गुडेको छ ? रोकिएको वा गुडेको अवस्था, कति स्पीडमा गुडेको भन्ने बारेमा जानकारी लिन सक्ने अध्यक्ष महाप्रसाद सुवेदीले जनाए ।
स्रोत- ganthan.com

Posted by Unknown on 10:20 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " पोखरामा नयाँ युरो–थ्री मापदण्डका नगर बस गुड्दै, "

Leave a reply