|

ताङतिङ गाउँको महायान लामा गुम्बा र गुरुङको सम्वन्ध |

पोल वहादुर तमु
पूर्वमा गोरखादेखि पश्चिममा म्याग्दी सम्माको भुभागभित्र तीनवटा ठाउँको महत्व उत्तिकै बराबर छ, मनुखोला, थो खोला र बीचमा च्यीली खोला ।
वर्ष ४ अंक १९८ २०७० चैत्र २३ गते आइतबारको राष्ट्रिय दैनिक कास्की आवाज पढ्ने अवसर मिल्यो । प्रथम पृष्ठको प्रथम समाचारमा लेखिएको छ, “ ताङतिङमा नौचु पैगी लामा महायान गुम्बा उद्घाटन ” । यो व्यवहारिक अभ्यास करिव डेढ सालदेखि सुन्दै आएको हो तर अहिले आएर विधिवत समाप्तसंगै गुम्बा उद्घाटन भएछ । त्यसबेला मलाई लागेको थियो, गुरुङ्ग संस्कृतिमा भएका परिवर्तनहरुले अव गुरुङ्गकै   ऐतिहासिक थलोतिर औला ठड्याउदै छ, तर पनि इतिहासलाई अलिकतिमात्र अध्ययन गर्ने हो भने ताङतिङ र त्यस वरिपरिका पुराना लमाहरुले एकैदिन मात्र भए पनि क्होँइपो भनिदिउन त्यसपछि गुम्बा विहार, चैत्य, मन्दिर, शिवालय जुनै पनि हुन सक्छ तर तिब्बतयिनहरुले समेत गुम्बाको उच्चारण गर्दा शुद्ध गुम्बा भनि उच्चारण नगरी क्हुँम्प÷क्होँम्प भनि मौलिक उच्चारण गर्छन् । नेपाली शब्द गुम्बा जसको गुरुङ्ग र तिब्बतिपन अर्थमा ( परिभाषा होइन ) के हुन्छ ? ताङतिङ र नौचुको सम्वन्ध गुरुङ्गको इतिहासमा जति छ, सायद त्यो सम्वन्धको ठीक उल्टो सम्वन्ध नौचु पैगी लामा महायान गुम्बाले देखाउछ यदि नौचु र महायान गुम्बाको इतिहास र अर्थ बुझ्ने हो भने ।
पत्रिकामा व्यहोरा दिए अनुसार नामार्जुङ ५ ताङतिङ पण्डितटोलको नँौँचु पैगी लामा महायान वौद्ध गुम्बा समितिले अगुवाई गरेको यो भनाई अनुसार गुरुङ्ग ज्योतिष शास्त्रमा शुभ अशुभ छुट्टाउने जानकारलाई पैंडी भनिन्छ र त्यसै पैंडीको नेपाली नाम वा अर्थ पण्डित बन्यो । सायद यो टोलमा गुरुङ्गको ज्योतिषशास्त्रीहरु निकै होला त्यसैले नेपालीमा नाम रहन गयो पण्डित टोल । अरु कुराहरुलाई छोडेर गुरुङ्गको एउटा इतिहासको अंशमाात्र बुझ्ने कोशिस ग¥यो भने उइचो चौंरु पच्युहरुको कर्मस्थल लप्रु ल्हेपृहरुको कर्मस्थल र नार लमाहरुको कर्मस्थल हो, त्यसैले ती पवित्र र शुद्ध कर्मस्थलहरुमा आ–आफ्ना क्होंइपो अथवा कुल थिए । त्यसैले माथि शुरुमा भनिएका तीन ठाउँहरु जसलाई बोलीचालीमा खोला भने पनि गुरुङ्ग भाषामा स्याँे भनेको हो, जुन इतिहास सम्वत छ, छैन विचार गर्नुपर्ने यो हो । इतिहासमा गुरुङ्ग लमाहरु पनि क्होंइपो मै वस्थे भन्ने अर्थ तिब्बतियनहरुले समेत शुद्ध गुम्बा भनि उच्चारण गर्न नसकि क्हुँम्प वा क्होंम्प भनि उच्चारण गर्छन भन्ने भाषाले प्रमाणित गराउछ, तर हामी गुरुङ्गहरु आजको तिब्बतियन भन्दा धेरै अघिदेखि ब्राम्हणहरुको सम्पर्कले गर्दा गुम्बा भनि राम्रै उच्चारण गर्न सक्छन् तर गुम्बाको गुरुङ्ग अर्थ के हो ? जसरी चम भनेको खान्छु हुन्छ । अर्को कुरा पत्रिकाको तेस्रो अनुच्छेदमा “ पितृहरुको स्मृतिमा निर्मित गुम्बामा राखिएका वुद्ध मूर्तिहरुमा वौद्ध अर्घौ सदनका प्रमुख लामा आचार्य ” भन्ने भाषाले यदि पितृकै नाममा हो भने गुरुङ्गको पितृ खासगरी ताङतिङका पैगी लामाको पितृ र वुद्धको सम्वन्ध के, किनभने वुद्ध तलाबाट वा दक्षिणी मुलका हुन् । ताङतिङका पैगी लामा कुन मुलका भन्ने प्रश्न उठ्छ । यसैगरी आफ्नो कर्मको भाषामा नाम परिवर्तन गरेका लामा गुरु जो आचार्य भनिएका छन्,संस्कृत भाषामा व्राम्हणहरुको पुरोहित्याई वा कर्मकाण्ड सम्वन्धि स्नातकोतर उपाधि लिनेलाई आचार्य भनिन्छ ।
गुरुङ्गहरुले त्यति विचार गर्दैनन् जस्तो लाग्छ तर भौतिक सुख सुविधा र रमाइलोसंग परिचित समूदाय हो । त्यसैले निकै रमाई– रमाई संस्कार–संस्कृतिहरु नयाँ तरीकाले भित्रिदा पनि स्वागत गर्छन, यसअघि के हो ?, कसो हो ? भनि विचार गर्ने कोशिस गर्दैनन्, यदि गरेका छन् भने इतिहास र पहिचान हराउने नियतले गरेका छन् । अर्को कुरो हिन्दुहरुको थिचोमिचोमा परि आफ्नो इतिहास र पहिचान हराएको भन्दै वकालत गर्ने र त्यसका लागि वुद्ध धर्मको साहरा लिनेहरुले वुद्धले भनेका ज्ञान, संयम, कर्म एकातिर छोडि ठीक त्यसको उल्टो तरिकाले प्रचार भएको हिन्दु धर्मको बुद्ध नाम मात्र हो भन्ने बुझ्ने कोशिस खोई ?
मनुखोलामा अथवा मनु स्योँ भन्नाले मास्र्याङ्दी वरिपरिको भूभाग जो मनाङ्गसम्मा सम्वन्धित हुन्छ, त्यो मनाङ्गे अथवा अर्को अर्थ नलागेमा भोटे ( प्हँएमै ) को इतिहास, संस्कार, संस्कृतिसंग जोडेर हेरिन्छ । थो खोला अथवा थो स्याँे भन्नाले कालीगण्डकीको सेरोफेरो जो मुस्ताङ्गसंग छ र थकालीहरुको संस्कार संस्कृतिसंग जोडेर हेरिन्छ । च्यीली खोला अथवा च्यीली स्याँें भन्नाले मादी नदीको सेरोफेरो जो सिक्लेसको इतिहाससंग जोडेर हेरिन्छ, जहाँ गुरुङ्गहरुको संस्कार, संस्कृति, रितिथिति प्ये ताँ–ल्हु ताँ बढि मात्रमा प्रयोग गरिएको भन्ने बुझिन्छ । त्यसैले यी तिनैवटा ऐतिहासिक ठाउँहरु आ–आफ्नो क्षेत्रमा उत्तिकै बराबर महत्वपूर्ण रहदै आएको हो । उक्त पत्रिकाको बा¥हौं अनुच्छेदमा “ नौचु पैगी लामा महायान गुम्बा समितिका अध्यक्ष पूर्व माननीय नन्दजंग गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वेद वहादुर गुरुङ्ग श्यामले गर्नुभएको थियो ” भन्ने सन्दर्भले गर्दा च्यीली खोलामा गुरुङ्ग समूदायको इतिहास, संस्कार, संस्कृतिमाथि प्रहार भएको छ भन्ने बुझिन्छ ।
प्रत्येक वर्षको चैते दशैंमा गुरुङ्गहरुको यस्तै ऐतिहासिक गाउँ ताङतिङमा चैते दशैं मेला लाग्छ । यसपाली पनि लाग्यो, २०७० चैत्र २९ गतेको नागरिक दैनिक हेर्ने मौका मिल्यो । अमृत भादगाउँले जो निकै चल्दापुल्दा पत्रकारमा गनिन्छ, ले “ लोभ्याउदै ताङतिङ” शिर्षकमा यसै मेलाको बारेमा लेख्ने क्रममा त्यहाँ हालै स्थापित गुम्बा र त्यसभित्रको मूर्तिहरु समेतको फोटोको बयान पनि लेखेछ । उक्त लेखको चौंधौं अनुच्छेदमा “ गाउँमा दुईतले गुम्बा बनेको छ । नौंचु पैगी लामा महायान वौद्ध गुम्बा । त्यहाँ गौतम वुद्ध, गुरु पद्यसंभव र आर्य अवलोकितेश्वरका मूर्ति छन् । पूर्वमन्त्री नन्दजंग गुरुङ्ग, संस्कृतिकर्मी श्याम तमु लगायतको सक्रियतामा बनाइएको गुम्बा चैत्र २२ गते उद्घाटन गरियो । ” यहाँनिर यो अनुच्छेद किन उतारिएको हो भने पूर्व मन्त्री वा पूर्व माननीय च्यीली खोलामा मात्र नभई कास्की, लमजुङ्ग हुदै यु.केसम्मा कहलिएका व्यक्तित्व हुन्, किनभने पूर्व माननीय भएकै कारणले मात्र नभई उनी गुरुङ्ग सम्वन्धि राम्रा ज्ञान भएका नामी पैंडी भएकै कारणले यसरी कहलिएका हुन् । त्यसैले उनी कहलिनुमा उनको ज्ञान भनेको गुरुङ्गहरुको आँखा हो, ज्योति हो अर्थात इतिहास, संस्कार, संस्कृति हो न कि आज बनाइएका गुम्बा र त्यसभित्रका मूर्तिहरु । जीवनको लामो समय गुरुङ्ग सम्वन्धि अध्ययन गरी त्यसै विषयमा चर्चा पाएर चिरपरिचित भएका विज्ञहरु जीवनको उतरकालमा आएर त्यसैलाई होइन भन्ने ब्यक्तिको धर्र्मात्म कहाँ रहन्छ ? यसैगरी श्याम जो आजको कालखण्डमा विभिन्न उपमाहरुले चिनिन्छ, राजनैतिक रुपमा, समाजसेवीमा, फिल्म क्षेत्रमा, गीत संगीतमा थुप्रै क्षेत्रमा तर च्यीली खोलाको इतिहासमा अर्को नयाँ इतिहास पनि भित्राए, त्यसैले पहिचान के हो ?
मलाई लाग्छ, याङ्जाकोटको जगमान प्राध्यापक भएर मात्र कहलिएका होइनन्, किनभने यस्ता प्राध्यापकहरु गुरुङ्ग समूदायमा निकै छन् । उनी गुरुङ्ग समूदायको इतिहास, संस्कार, संस्कृतिको चिन्तन गर्ने, यसका ज्ञाता र यसैलाई वकालत गर्दै आएको हुनाले नै साराले उनलाई चिने, उनले सारालाई यही ज्ञानको बाटो चिनाए । यसैगरी सिक्लेसको रतनसिं गुरुङ्ग ( स्व.) त्यसवेलाको क्ह्रोँ भएर मात्र कहलिएका होइनन् । उनीसंग गुरुङ्गको इतिहास थिए, संस्कार, संस्कृतिका भण्डार थिए , उनी सिक्लेसकै संरक्षक ( प्हार ) थिए । प्ये ताँ–ल्हु ताँको व्याख्यकार थिए त्यसैले उनी कहलिए, सिक्लेस कहलिए, सिक्लेस कहलिए उनी कहलिए । त्यसैले आफु जुन ठाउँमा उभिएर आफ्ना गतिविधिले अगाडि ल्याए त्यसैको वार्खिलाप गर्नु पितृको इच्छा विपरित हुन्छ । अथवा ताङतिङमा राखिएको शान्तिका प्रतिमूर्तिहरुको विरुद्धमा हुन्छ, पाप, हिंसा हुन्छ । यदि त्यो नाम वुद्धको दर्शन र कर्म हिन्दुको हो भने ।
च्यीली खोलामा यसरी विधिवत रुपमा गुम्बा र यसको सजावटले रङ्गिएको सुरुवात ताङतिङबाटै भएको पाइन्छ । यसअघि मान्छेको विचार, व्यवहार जे जस्तो भएपनि यो खोलामा यस्तो प्रयास भएको थिएन । यसै पत्रिकामा दिएको गुम्बाभित्रका मुर्तिहरु क्रमशः अवलोकितेश्वर, शाक्यमुनि वुद्ध र पद्यसंभव । शिष्य वा चेला वा शिकारु वा ज्ञान लिने जो कोहिले जोगी, थारु, मगर, धाँमी, झाँक्री, पच्यु, ल्हौरी, लामा, जैसी, पण्डित कसैसित केही ज्ञान सिकेमा गुरु मान्न सकिन्छ । त्यसैले ती तीनवटा मूर्तिहरु ज्ञानका ज्योति भएर गुम्बाभित्र सजिएर राखेको हुनसक्छ । तर गुरु मात्र मान्ने कि तिनको इतिहास र गुरुङ्गको इतिहासवीचको भिन्नता पनि बुझ्ने । पहिलो कुरा गुम्बाभित्रको अवलोकितेश्वर नाम र उनको मूर्तिको स्वरुपले के देखाउछ भन्ने अलिकति मात्र पनि बुझ्ने कोशिस गुरुङ्गले गरेको देखिन्न । हिन्दु शास्त्रका एक जना पण्डित ( पोखरास्थित ) का अनुसार कुनै पनि देवताहरुको नामको पछाडि श्वर भनि जोडिएर आएमा त्यो हिन्दुहरुको देवता हो भनि बुझ्नुपर्छ । त्यसैले अवलोकितेश्वर भनि हिन्दुहरुको देवताहरुका पनि देवता महादेवलाई चिनिन्छ । हिन्दुहरुको भगवान शिवका धेरै रुप र नामहरु छन । जस्तैः गलेश्लर, भिमेश्वर,गोकुलेश्वर, कुम्भेश्वर, उमेश्वर, इसानेश्वर, महेश्वर त्यसैगरी आर्य अवलोकितेश्वर । यसैले प्रथमः यी मूर्तिहरुको पहिलो मूर्तिको नाम शुद्ध हिन्दु अथवा संस्कृत भााषासंग सम्वन्धित भएको हुनाले यो गुम्बाभित्र वुद्धको नाममा हिन्दु देवताको मूर्ति पुज्यणीय छ भन्ने स्पष्ट देखाउछ ।
अर्को विषय यसैको स्वरुप अध्ययन गर्ने हो भने यो अवलोकितेश्वर मूर्तिको चारवटा हात छ । वुद्ध धर्मले यसै चारवटा हातको विरोध गर्छ किनभने ती चारवटा हात हुने देवी देवता भनेका हिन्दुहरकै मात्र हुन्छन् । विभिन्न धर्मका प्रार्दुभावहरुको मूर्ति, फोटोहरु हेर्ने हो भने क्रिश्चियनको क्राइष्टको चारवटा हात छैनन्, मुसालमानको पैगम्बरको चारवटा हात छैनन्, वोन धर्म मान्नेहरु त झन मूर्तिको पुजा नै गर्दैनन् । वुद्ध धर्म मान्ने वुद्धको चार वटा हात छैनन्, त्यसैले वुद्धको मात्र नभई कसैको पनि चारवटा हात नभएको देवता ताङतिङको गुम्बाभित्र वुद्धको नाममा कसरी चार हात भएको हिन्दुहरुको मूर्तिले शोभा बढायो ?
दोश्रो विषय, वीचमा भएको “ शाक्यमूनि वुद्ध ” । संसारमा मानव जगतको लागि मात्र नभई सम्पूर्ण जन्तु जनावरहरुको लागि सवैभन्दा उतम पाठ दिने सायद वुद्ध नै होला । वुद्धको अर्ति उपदेश र दर्शनभन्दा जीव जगतमा अर्को दर्शन अझै आउन सकेको छैन । शाक्यमुनि वुद्ध भन्ने वितिकै शाक्य र गुरुङ्ग त्यसमा पनि ताङतिङका पैगी लामा वीचको सम्वन्ध के हो ? जसले यहाँका शाक्यमुनि भन्ने वितिकै शब्द र भाषाले कति भेद देखाउछ, त्यसैगरी नौचु ठाउँ र कपिलवस्तु ठाउँवीचको ऐतिहासिक सम्वन्ध के हो ? भनि विचार गर्ने कि हल्का तरिकाले उडाउने । वास्तवमा वुद्ध त्यसवेलाको हिन्दु संस्कारमा रहेको वलीपुजा, कर्मकाण्ड, छुवाछुत, ठुलोसानो, धनी गरीव, सुख सुविधा र दीन दुखीवीच रहेको व्यवहारको विरुद्धमा उपदेश दिने महान् व्यक्ति हुन् तर आज आफुलाई वुद्धिष्ट भनि चिनाउनेहरुले वुद्धकै उपदेश विरुद्ध किन प्रचारवाजीमा लागेका छन् ।
¬¬
तेश्रो विषय, तेश्रो मूर्ति जसलाई पत्रकारले पद्यसंभव भनि भनेका छन्, जो लामाहरुले गुरु रिम्पोछे पनि भनिन्छ क्यारे । हिन्दु धर्मको विरुद्धमा वुद्ध धर्मको प्रचारप्रसार भएपछि अथवा वुद्धको उपदेशहरु पालना हुदै गएपछि त्यसवेलाको भारत वर्षमा हिन्दुहरुका पण्डितहरु, हिन्दु धर्मका अनुयायीहरुमा ठुलो चिन्ता फैलिए । त्यसैले सातौँ शताब्दीतिर भारतका विख्यात हिन्दु पण्डित जो तान्त्रिक विद्याका पनि मालिक थिए, नेपालमा पटक पटक आए । नेपालमा धेरै पटक आइसकेपछि हिन्दु धर्म वचाउनका लागि उनले ठुलो चलाखी गर्न थाले । नेपालको बाटो हुँदै तिब्बत धेरैचोटि पुगे । त्यहाँ पुगेपछि संस्कृतमा रहेका सम्पूर्ण हिन्दु शास्त्रहरु तिब्बतियन लिपि र भाषा जसको मुल भाषा संस्कृत नै हो, बनाए र ती हिन्दु शास्त्रहरु सवै तिब्बतियन लिपिमा निकाले । वेला वेलामा चट्की जादु, तन्त्रमन्त्रहरु पनि देखाएर विस्तारै त्यहाँका प्हएँहरुलाई प्रभाव पार्दै लगे । यो काम त्यति सजिलो र छिटो भएन करिब तीनसय वर्ष जति त्यहाँका प्हएँ र नयाँ धर्मवीच लडाई चलिरह्यो भनिन्छ । वुद्ध धर्म हिन्दु धर्मको विरुद्धमा आएको हुनाले उनले वुद्ध धर्मकै नाम लिएर भित्रि सारमा हिन्दु धर्म प्रचार गर्ने उद्धेश्य थियो । यसैले वुद्धले मूर्तिपुजा, कर्मकाण्ड, बाजागाजा, फोटो पुजा, स्वयं आफ्नो समेत मूर्ति नबनाउनु भनि उपदेश दिए पनि हिन्दुहरुको प्रभावले गर्दा आज संसारमा सवैभन्दा महंगो, सवैभन्दा सानो, सवैभन्दा ठुलो, सवैभन्दा धेरै मूर्ति वुद्धकै छन्,त्यतिमात्र नभई जसको आफुले विरोध गरेका थिए आजका नाममात्रका वुद्धिष्टहरुले उनका दायाँवायाँ हिन्दु देवीदेवता र दार्शनिकका मूर्ति र फोटाहरु सझाउछन् ।
हिन्दुहरुले वुद्ध धर्मलाई पनि आफ्नो दश अवतारमा राखे,
मत्स्य कुर्मौ वारहस्य नृसिंहो वामनस्त
राम रामौ रामस्य वुद्ध कल्कि तथैवच
वास्तवमा वुद्धले त्यसवेलाको सांसरिक मोह, लोभ–लालच, अन्याय–अत्याचार समग्रमा भन्नुपर्दा हिंसाको विरुद्धमा वुद्धत्व प्राप्त गरे तर आज हिन्दुहरुले किन वुद्ध धर्म पनि हिन्दु धर्मकै एउटा शाखा हो, विष्णुको नवौँ अवतार हो भन्छन् । खासगरी हिन्दु धर्म दर्शन र वुद्धको धर्मको दर्शन बाटो ठिक उल्टो हो नि । तर आजका वुद्धिष्टहरु विशेषगरी गुम्बामा बस्ने लामाहरु साँच्चै वुद्धको दर्शन अनुसारका छन् ? यसो भन्दा वुद्ध धर्मको विभिन्न सम्प्रदायहरुको भएको हुनाले फरक फरक इच्छा, जीवनशैली र नाम रहन गए भन्छन् आफुलाई वुद्धिष्ट भन्नेहरु तर वुद्धको कुनै फरक सम्प्रदाय थिएन एउटै विचार र व्यवहार थिए त्यो अहिंसा हो । अहिंसा भन्नाले लोभ लालच, चोरी डकैती, जुवा तास, व्यभिचार, सुखसुविधा, छलकपट, झुट आदि सवै पर्छन, जुन हिन्दुहरुमा सांसारिक मोहबाट अलग्गिने ब्रम्हाचारीहरुले पालन गर्ने कोशिस गर्छन । हिन्दुहरुमा पनि वैष्णव मार्गी, शिवमार्गी विशेषगरी दुई थरीको भएपनि त्यसभित्र के के नामका गुरुहरु, धर्मात्माहरुं जस्तै, एकसय आठ महाराजा, स्वामी महाराजा के के नामकै, पदकै शिको आजका वुद्धिष्ट भन्नेहरुले गरेको हुनाले पनि यिनीहरुमा पनि यो अवतारी लामा, यो फलनो रिम्पोछे लामा भनि वेलावेलामा नामहरु आइरहन्छन् । वुद्ध आफै हिन्दु धर्मको विरोधि हुदाँहुदै पनि किन लामाहरु अवतारी लामा भनि विश्वास गर्छन् । त्यसैले यी सवै व्यवहार वुद्धले भनेका मार्ग नभई धर्म बचाउनलाई वुद्ध धर्मको नाम लिई चलाखी गर्ने तिनै पद्यसंभवका क्रियाकलापहरु हुन् । वाहिर वुद्ध भनेपनि सारमा अथवा दर्शनमा हिन्दुधर्म शास्त्रको ज्ञान लिएकै कारणले गर्दा आज यिनीहरुमा हिन्दु धर्म दर्शन अनुसार मूर्ति पुजा, फोटो पुजा, चार हातको देवताको मूर्ति, कर्मकाण्ड, बाजागाजा अवतारमा विश्वास, गुरु र शिष्यवीचको गहिरो भिन्नता, लामा बन्ने जग्गे झण्डै पण्डितले प्रवचनदिने खालको जग्गे आदि थुप्रै थुप्रै व्यवहारहर्रु रहेका हुन् ।
हामी आदिवासी भन्छौँ नेपालमा, वाहुनहरुले हाम्रो धर्मकर्म, संस्कार, संस्कृति, भाषा आदि सवै खाइदिए भनि गाली गर्छौँ हामी । तर अवको दिनमा वाँकी रहेका कर्मकाण्ड, भाषा, संस्कार, संस्कृति तिनै वाहुन बाजेबाट सिकेका लामा वा वुद्धिष्टहरुबाट हुदैछ । मैले माथि दुई जना विशेष व्यक्तिहरुको नाम लिए, किनभने उनीहरु आजसम्म गुरुङ्गका आँखा थिए तर आजैबाट फेरी गुरुङ्ग आँखा हुनबाट टाढा गए । हामी वाहुनलाई मात्र गाली गरेर के फाइदा आखिर सातौँ शताव्दीदेखि अत्यन्तै कुटनीति तरीकाले वाहुन बाजेको मन्त्रोचरण सिकाउदै आएर आज एकाइसौँ शताब्दीसम्म आउदा गुरुङ्गकै इतिहास र संस्कृतिको केन्द« च्यीली खोला ( च्यीली स्यों ) मा उनै वाहुन बाजेको धर्मकर्म र मूर्ति राख्न हाम्रा इतिहासका संरक्षकहरु कम्मर कसे । वुद्ध त नाम मात्रको वुद्ध हो, यी सवै हिन्दु देवी देवताका मूर्तिहरु हुन्, लामा त नाम मात्रको लामा हुन् यी सवै हिन्दु दर्शनका पण्डित हुन् ।
समाजमा विकसित हुदै गएको यो रुप र सार गुरुङ्गको इतिहास, गुरुङ्गको संस्कार, संस्कृति, गुरुङ्गको काम व्यवहार छ कि छैन, यसले साँच्चै गुरुङ्गको पहिचान र आस्तित्व वचाउछ कि हराउछ । सवैभन्दा पहिला वुझ्नुपर्ने जगत भनेको गुरुङ्गको वौद्धिक जगत हो जसले यसलाई राम्रोरी केलाउनै पर्छ, त्यसपछि गुरुङ्गको समाजमा अगुवाई गर्ने सामाजिक अगुवाहरु हुन् जसले समाजलाई वुझाउनुपर्छ, त्यसपछि यसमा पुरोहित्याई गर्ने लामाहरु हुन् जसले हामी कुन दर्शन पढ्दै छौँ, कसको इतिहास पढ्दै छौँ, कसको कर्मकाण्ड गर्दैछौँ, हिन्दुको, वुद्धको, गुरुङ्गको भनेर राम्रोसंग अध्ययन गरी आफै स्पष्ट हुनुपर्छ, यसो नभएमा गुरुङ्ग समूदायको इतिहास ज्यादै संकटपूर्ण अवस्थामा जान सक्छ, त्यसवेला आफ्नो आस्तित्व र पहिचान हराउछ अनि मान्छे नै हराउछ ।
हिजो सातौँ शताब्दीभन्दा पहिला गुरुङ्गहरु तिब्बतबाट नेपाल भित्रीसकेको हो र धेरै गुरुङ्गहरु तिब्बतमा भएको त्यसै धार्मिक युद्धबाट आफ्नो धर्म कर्मकाण्ड बचाउनलाई नेपाल पसे । जसले गर्दा आजसम्म गुरुङ्गको कर्मकाण्ड यो हो, संस्कार संस्कृति यसरी हो, सामाजिक संरचना यस्तो छ भनि अरुलाई आफ्नो पहिचान र चिनारी दिन सजिलो छ । तर भोलिका दिनमा यो रहेको चिनारी पनि हराउदै जाने क्रमले गर्दा गुरुङ्ग के हो भनि एकादेशको कथा भन्दा पनि सा¥हो हुन सक्छ । त्यसैले अघि तिब्बतमा अघिपछि जे जसरी गुरुङ्गहरु नेपाल आएर आफ्नो इतिहास, संस्कार, संस्कृति बचाए आज त्यस्तै खालको लडाई दुई समुह भनि छुट्टिएको नामको आधारमा भैरहेको पाइन्छ । सायद यो भन्दा दुःख अरु के होला र । तै पनि कोशिस गरौँ, सवैले वुझ्ने प्रयास गरौँ हामी गुरुङ्ग हो कि होइन । यदि हो भने शब्द भाषाले मात्र फलना गुरुङ्ग भनि नचिनौ, हिजो पनि गुरुङ्ग, आज पनि गुरुङ्ग, भोलि पनि गुरुङ्ग चिन्ने गरौँ । ताङतिङ र नौचुको इतिहासमा प्राकृतिक शक्ति, शिल्तु नाल्तु र कुल कुलायनको विषयमा कसैलाई मला ( आर्शिवाद) दिने गरिदा “ न्तोँती बाजे पैगो ” र नौचु फिचु इ पाउइरवि छ्याँप छ्याँप ततो भन्ने उक्तिमा अव ती प्राकृतिक शक्ति वा विश्वास र हालको गुम्बा र त्यहाँका मूर्तिको विश्वासमा गुरुङ्गको पहिचान कहाँनिर छ त्यो बुझ्नैपर्ने हुन्छ ।
यो व्यहार ताङतिङमा गुम्बा निर्माण ग¥यो भनेर मात्र होइन, थो खोला र मनु खोलामा धेरै वर्ष अघि नै यसको प्रभाव थिए र त्यो अव च्यीली खोलामा पनि शुरु भएको छ, भोलि याङ्जाकोट र सिक्लेसमा यस्तै भएमा त्यहाँ पनि यस्तै प्रकारको व्यवहार हुनसक्छ । यसअघि हिन्दुहरुले सारा कुना काब्जामा आफ्ना मठ मन्दिर, देवालय, शिवालय स्थापना गराईसकेका छन्, त्यसैले हिन्दुहरुकै देवी देवताको पुजा पाठ गर्ने भए किन चहियो गुम्बा तिनै मन्दिरमा गर्नुनि, हिन्दुहरुको दर्शन अनुसार हिड्ने भए, पढ्ने भए गीता, महाभारत, रामायण वेद, श्रीमदभागवत पुराण, श्रीस्वस्थानी व्रत कथा आदि वरु नेपाली सरल भाषामै पढ्न पाइन्छ , बुझ्न सकिन्छ यसो गरेमा त्यो शुद्ध र पवित्र पनि हुन्छ । यसैले नामले वुद्ध र लामा भनेर व्यवहार र दर्शन बुझ्ने कोशिस नगर्ने हो भने गुरुङ्ग समूदायको आस्तित्व र इतिहास सिमित गुरुङ्गहरुसंग मात्र सिमित हुनसक्छ, त्यो सवै गुरुङ्गहरुको साझा हुनुपर्छ । यसको लागि आफ्नो सैद्धान्तिक पक्ष, व्यवहारिक अभ्यास आफ्नो मौलिकपनको हुन आवश्यक देखिन्छ । हुन त यो विषय नयाँ विषय होइन किनभने नेपालमा शेर्पा, थकाली, भोटे र तामाङ्गपछि गुरुङ्गवीचमा पनि यो अभ्यास प्रवेश गर्दैछ । त्यसैले ताङतिङको विषय नयाँ भएपनि काठमाण्डौँको स्वयम्भुनाथ प्रवेशद्धारको मुख्य तीनवटा मूर्तिहरु तिनै हुन् । त्यसैले यसलाई आदिवासी जनजातिहरुले पहिलैदेखि प्रयोगमा ल्याएका हुन् वुद्ध धर्मको नाममा । यसलाई छिनाफानो गरी समाजमा आफ्नो पहिचान र आस्तित्व जोगाउनतिर लग्दा सायद आर्यन देवी देवता र वुद्धप्रति पनि अन्याय नहोला ।
( लेखकः मानवशास्त्रीका विद्यार्थी हुनुहुन्छ । )
                               
                                                     नौचु पैगी लामा महायान गुम्बा 








Posted by Unknown on 5:27 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ताङतिङ गाउँको महायान लामा गुम्बा र गुरुङको सम्वन्ध |"

Leave a reply