|

यार्चागुम्बा बने यमराज |



हेमबहादुर त्होर्जें तमू

अन्नपूर्ण हिमश्रृंखलाको काखमा अवस्थित कास्की जिल्लाको नामार्जुङ गाविस अनेक वन पैदावर तथा  तमू सभ्यताको प्रारम्भ थलो क्होला सोंथरको कारण तमू समुदायविच एक चिरपरिचित नाम हो । कास्की जिल्लाको पार्चे गाविसमा पर्ने सिक्लेस गाउँको पूर्वपट्टि बग्ने मादी नदिको पूर्वी किनारामा अवस्थित यस गाविसको १ देखि ५ वडाहरुलाई समेटेको ताङतिङ गाउँ तमू जातिको आदिम धर्म र संस्कृतिको नमूनाको रुपमा देश विदेशमा आफ्नो नाम र महत्व स्थापित गर्न सफल भएको कुरा निर्विवाद छ । ताङ्तिङ (तोने नासा) गाउले क्होला सों थर बाट क्होइली(लमजुङ जिल्लाको घनपोखरा आसपासको इलाका), नोउचो, पुरान र पुरानस्वाँरा हुँदै आजको स्वरुप ग्रहण गरेको हो भन्ने यस गाऊँका बूढापाकाहरुको भनाई रहेको पाइन्छ । यस गाउँको मुख्य वासिन्दामा तमू जातिको ल्हेगे तमू, क्र्होम्छै तमू, त्होर्जें तमू, प्ल्हे तमू, टु क्ल्हेप्री तमू, प्हच्यू तमू, लेम तमू, कोन तमू, लम तमू आदि पर्दछन् । छ्रुटपुट रुपमा यस गाविसमा दलित जाति पनि बसोबास गरेको छ । यहाँका सबै तमूमा भाईचारा भई मिलीजुली बसेका छन् । अतः समग्र रुपमा यस गाउँलाई विशुद्ध तमू गाउँ हो भन्दा फरक नपर्ला ।
विकासको नाममा यस गाउँको प्रत्येक घरमा एक उन्नत चूलो, एक शौचालय र एक खाने पानीको धारा राख्ने अवधारणा अनुरुप योजना कार्यान्वयन गरेको पाइन्छ । यसले गाउँको वातावरण स्वच्छ, सफा र प्रदुषण मुक्त रहेको अनुभूति दिलाउँछ । यस गाऊँका सबै घर, धन्सार, कटेरा र गोठ पुरानो तमू शैलीमा निर्मित छन् जसमा तमू मौलिकता लुकेको पाइन्छ । यस गाऊँको भौतिक संरचनामा अहिलेसम्म आधुनिकीकरणको भौतिक पूर्वाधारले छोएको पाइदैन । खाना पकाउन ईंन्धनको रुपमा गाऊलेहरु अहिले पनि दाउरा नै प्रयोग गर्दै आएको पाइन्छ । तमू मौलिकता झल्कने यस गाऊँको भौतिक संरचनाहरुमा आधुनिकिकरणको नाममा आफ्नो पारम्परिक शैली टूट्न नपाओस भन्ने चाहना प्रत्येक गाउलेको हुनु पर्दछ । यस गाऊँको प्रत्येक वडामा रोधींको झल्को दिने समाज घर खडा गरिएको पाइन्छ जहाँ सांस्कृतिक परम्परालाई जीवन्त राख्ने कार्यहरु भईरहेको पाइन्छ । अहिले आएर “जहाँ जहाँ तमू जाति त्यहाँ त्यहाँ पवित्र क्होंइबों धीं” भन्ने तमूहरुको मूल अभियानको लहरले यस गाऊँलाई पनि छोएको पाइन्छ, परिणामस्वरुप क्होइबों धीं निर्माणका लागि ताङतिङ निवासी तिलमाया प्ल्हें तमूस्यो, जगतमाया प्ल्हें तमूस्यो, डम्बरसिंह प्ल्हें तमू, कुमारी प्ल्हें तमूस्यो, निर्मला क्र्होम्छै तमूस्यो र हाल यूके निवासी उमर प्ल्हें तमू, तर्कु तमूस्यो एवं किर सुबा प्ल्हें तमूस्योले करिब ५ लाख बराबरको जग्गा दान गरेका छन् जसलाई आफ्नो धर्म र संस्कृतिप्रतिको लगावको रुपमा हेर्न सकिन्छ । यस गाऊँमा संचालित लघु जल विद्युत आयोजनाले सम्पूर्ण गाऊँको अन्धकार चिर्न सफल त भए कै छ नै, साथै नेपाल सरकारको योजनाविदहरुका लागि गरे के हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्न पनि सफल भएको छ । के महिला, के पुरुष र के वृद्ध, के ठिटा–तरुनी सबैको हातमा संचार साधन मोबायल सेटहरुले शोभा बढाई रहेको मनग्य देख्न पाइन्छ । विदेशमा रहेका आफ्ना दाजु भाई दिदी बहिनीहरुसँग छिनछिनमा सम्पर्क स्थापित गर्ने गरेको यत्र तत्र सर्वत्र देख्न पाइन्छ । पहिलेको जस्तो महिनौ आफन्तको समाचार नपाएर वेदनाले छट्पटिएको अवस्था त्यस गाउँमा अहिले विल्कुलै नभएको देखिन्छ । कास्कीको पोखरा उप–महा नगरपालिकासँग जोडी यातायातको सुविधा बढाउन यस गाउँका सबै तप्काका गाउँलेहरु पोखरा–ताङतिङ ग्रामिण सडक निर्माणमा दत्तचित्त भई लागेका छन् । यो सडकले पूर्णता पाएको खण्डमा तमू जातिको ऐतिहासिक थलो क्होला सों थरको ऐतिहासिक महत्व प्रवद्र्धनका लागि टेवा पुग्ने र वरीपरीका क्षेत्रमा आर्थिक–पर्यटन९भअय–तयगचष्कm० प्रवद्र्धन गर्न मद्दत पुग्ने देखिन्छ साथै स्थानीय रोजगारको अवसरमा अभिवृद्धि हुने छ । तर यसको सँगसँगै यस गाउँमा उपलब्ध सादगी, अपनत्व तथा आतिथ्यभाव एवं अभ्यासमा रहेको तमू धर्म र संस्कृतिउपर बाह्य संस्कार र संस्कृतिको अतिक्रमणको खतरा पनि त्यतिकै रहने छ । कुनै पनि बेला यहाँको निष्छल र निष्कपट समाजमा बाह्य संस्कृति तथा विसंगति भित्रिने खतरा पनि उत्तिकै रहने छ । यस भेकका तमू धर्म तथा संस्कृतिका हिमायती र तमू प्ये ताँ ल्हु ताँमा आस्था र विश्वास राख्ने तमूहरु यसतर्फ सजग तथा सचेत रहन अति आवश्यक छ । यति हुँदाहुँदै पनि यस गाविसका ग्रामिण विकास अधिकारी तथा गाविस सचिव शिवप्रसाद पाण्डेले आफ्नो कार्यालय पोखरा उपमहानगरपालिकामा खोली आफ्नो ओहदानुसारको अख्तियारको दुरुपयोग गर्दै लगातार आर्थिक बोझ तथा भौतिक सास्ति खेप्न तुल्याए पनि हाँसी हाँसी सबै कुरा झेल्ने गाऊँलेहरुको बानीलाई उनीहरुको सादगी तथा सोझोपनको संज्ञा दिन वाहेक अरु कुनै विकल्प देखिन्न ।    
स्थानिय स्वरोजगारको उपाय तथा अवसर उपलब्ध हुन नसक्नाले रोजगारको खोजीमा यस गाउँको युवाशक्ति विदेशिने क्रम र केटाकेटीको शिक्षा–दिक्षाको नाममा हुने आन्तरिक विस्थापनको कारण गाऊँलेहरु सहर पस्ने जस्तो रोगले गाँउलेहरु पनि अछूतो रहन सकेका छैनन् । यो देश कै रोग भएकोले यसलाई असहज मान्न कोही पनि तयार देखिन्नन् । सरोकार पक्ष समय मै सजग हुन नसके तमू जातिको धर्म र संस्कृतिको मौलिकताउपर पर्न सक्ने बाहिरी दबावका जिम्मेवार पक्ष यी अवस्था हुन सक्ने सम्भावना निर्विवाद देखिन्छ ।
तमू जातिको गर्व गर्ने एक मात्र विषयवस्तु पूर्खाले छाडेर गएका पहिचानका आधार उनीहरुको प्ये ताँ ल्हु ताँ नै भएकाले यसको बचाव गर्नु प्रत्येक तमूको कर्तव्य हुन आउँछ । यसलाई यी यस्ता मानवश्रृजित अवस्थाले छुन नसकोस प्रत्येक तमूको चाहना हुनु पर्दछ । यस गाउँको सभ्यताको चोखोपनलाई आयातित संस्कार र संस्कृतिको ग्रहण नलागोस सबै गाउँलेको ध्यान जान जरुरी छ । यस गाउँमा पँगी लम थरका तमू सदस्यहरुले पाएको पैंडी हुने सम्मान तमू समाजको वास्तविक धरातल प्ये ताँ ल्हु ताँ नै हो, तमूहरुको पहिचान यसैमा निहित छ र यसको महत्वलाई तमू समाजका सबै तप्का तथा वर्गले समान रुपले सकार्दै आएको लक्षण भन्दा अन्यत्र नभएको तथ्य भन्न मिल्ने र यी तथ्यहरुले आफैलाई फरक मत राख्ने बताउने अहिलेका प्रत्येक तमूलाई शिक्षा दिन अवश्य सहायक सिद्ध हुने कुराको आशा यस गाऊँमा अझै पनि मरेको रहेन छ भन्न सकिन्छ ।
 मेरी धर्म पत्नी हरिमाया ल्हेगें तमूस्यो(अहिले त्होंर्जें तमूस्यो) र मेरो ताङतिङ भ्रमणको एक मात्र लक्ष्य यार्चागुम्बा टिप्न जाँदा नामार्जुङ गाविसको उत्तरी भेकमा पर्ने वनको छेऊ भन्ने स्थानमा दुर्घट्नामा परी अकालमा असामायिक मृत्युवरण गर्न पुगेको म केही गरेर देखाउँछु भन्ने रहर बोकेको खाऊँ–खाऊँ लाऊँ–लाऊँ भन्ने ३२ वर्षको कलिलो उमेरको हाम्रो भतिज स्व. मेनकाजी क्रोम्छै तमूको अन्तिम संस्कार पयमा सहभागिता जनाउनु, उनको दिवंगत आत्माको चिरशान्तिको लागि क्ल्हेसोंदी प्ल्हेसोंदी, सिल्दो नाल्दोमा प्रार्थना गर्नु र शोकाकुल परिवारमा सामेल भई यस दुःखद घडीमा धैर्यधारण गर्न सफलता मिलोस भनी उनको लागि कामना गर्नु, आफ्ना स्वजातीय क्र्होम्छै तथा त्होर्जें पिता पुर्खा तथा दाजुभाई, दिदीबहिनीहरुसँग परिचित हुनु र सबै भन्दा सर्वोपरी कुरा आफ्नो पौराणिक इतिहास, भूगोल, मौलिकता, संस्कार, संस्कृति र सभ्यता बोकेको पुरानो तूमहरुको यस गाविसमा अवस्थित थातथलो क्होला सोंप्रे ट्होंको संरक्षण तथा प्रवद्र्धनका उपायहरुको खोजी एवं सम्भावनाहरुको विकल्पको अध्ययन गर्नु रहेको थियो । तर यार्चागुम्बा उनको लागि कहिले यमराज बन्न पुगे ? उनको पछाडी छाडेर गएका ३ वर्षे नाबालक छोरा र कलिलो उमेरकी बुहारीको के दोष थियो र प्रकृति उनीहरुविरुद्ध यसरी निर्ममतापूर्वक खनिए ? भन्ने अनुत्तरित सवालहरुले हामी सबैलाई विष्मित तुल्याएका छन् । त्यसैले प्रकृतिको निर्णय हमेशा अनौठो हुने गर्दछ भनेको हुनु पर्दछ । मनुष्यको हातमा प्रकृतिको निर्णय मान्नु सिवाय अर्को विकल्प शेष रहदैन । यी सबै मार सहेर पनि हाम्रो यस लक्ष्य परिपूर्तिका लागि वातावरण मिलाई दिने कार्यमा विशेष भूमिका खेल्ने मुत्यु वरण गरेर गए पनि स्व. मेनकाजीको दिवंगत आत्मा र विशेष गरी तमू प्ये ल्हु संघ, यूएईका अध्यक्ष ताङतिङ निवासी एकाजंग प्ल्हे तमू तथा  सिक्लेस निवासी पत्रकार देवीजंग ल्हेंगे तमूलाई यो श्रेय जान्छ । मरणोप्रान्त स्व. मेनकाजी क्रेम्छै तमूको दिवंगत आत्मा तथा एकाजंग र देवीजंग दुबैको सहयोगप्रति हामी अत्यन्तै आभारी छौं ।
तमू जातिको एक जिम्मेवार ज्येष्ठ सदस्यको हैसियतले हाम्रो मनमा आफ्नो जातिको धर्म र संस्कृतिको उद्विकास सम्बन्धमा जिज्ञासा उठ्नु र त्यसको विकास बारेमा केही गर्ने इच्छा जन्मनु मानवीय स्वभाव हो भन्न गलत हुने छैन । २०७१ साल वैशाख २५ देखि २७ गतेसम्म तमू प्ये ल्हु संघ, नेपालद्वारा आयोजित एवं संचालित तीन दिने प्रशिक्षण कार्यक्रममा संस्कृतविद ले.इन्द्रबहादुर क्याप्चै तमूद्वारा व्यक्त “तमू जातिको ऐतिहासिक धरोहर एवं सम्पदा क्होला सों थरको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनको हकमा अहिलेसम्म केही गर्न नसकिएको” भन्ने मार्मिक एवं वेदनायुक्त अभिव्यक्तिमा वास्तविकता लुकेको र तमूहरुको यो आवाज नेपाल सरकारको कानसम्म पुर्याउन अहिलेसम्म तमूहरु असमर्थ रहेको कुराले आफ्ना पितापुर्खाले बसालेको रीतिथीतिप्रति आस्था र विश्वास राख्ने कोही पनि तमू द्रवित भए विना रहन सक्तैनन् । अतः तमू समाजको धर्म र संस्कृतिको आवरणभित्र लुकेको कथा र व्यथाको सही अर्थको खोजीमा हाम्रो कदम स्वतमेव ताङतिङतर्फ बढेका हुन् भन्न अतिशयोक्ति नहोला ।
यसै सिलसिलामा ताङतिङ गाऊँको हाम्रो तीन दिनको बसाईले हामीलाई तमू जातिको धर्म र संस्कृतिको राम्रो परिचय गराएको छ । भेक भेकमा तमू संस्कारमा विद्यमान सांस्कृतिक विविधता सम्बन्धमा राम्रो जानकारी गराएको छ । तमू जातिमा पाइने स्नेह, आफ्नोपन, सदाशयता तथा सहृदयताको राम्रो अनुभूति गराएको छ । प्ये ताँ ल्हु ताँप्रति तमू–तमूविच कायम साना मसिना मत–मतान्तर तथा विभेद यथाशिघ्र सम्बोधन् हुनुपर्ने यथार्थतर्फ डोर्याएको छ । अन्तत्वगोत्वा तमू जातिको इतिहास, परम्परा, रीतिथीति, मौलिकता एवं संस्कार र संस्कृतिको वास्तविक धरातल तमू प्ये ताँ ल्हु ताँ नै हुन् भन्ने कुरा चिनाएको छ । प्ये संकलन कार्यमा अब सरोकार पक्षले कुनै पनि हालतमा विलम्व गर्न हुन्न भन्ने शिक्षा दिलाएको छ । तमू जातिको ऐतिहासिक थातथलो क्होला सोंथरको संरक्षण सम्बन्धमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा मुद्दा उठाउनु पर्ने आवश्यकता सम्बन्धमा जागरुक हुनु पर्ने पाठ सिकाएको छ । आफ्नै धर्म र संस्कृतिका धनी तमू जातिलाई बाहिरी धर्म र संस्कृतिको आसरा लिनु पर्ने आवश्यकता छैन भन्ने सिक दिलाएको छ । हाम्रो धर्म र संस्कृतिको आदर गर्ने वातावरण तयार गरौं र सभ्य समाजको निर्माण गरौं । यसैमा समुच्च तमू समाजको हित लुकेको छ भन्ने कुराको हामी सबैले स्मरण गरौं । अनि मात्र बल्ल प्ये ताँ ल्हु ताँमा निहित मूल मन्त्र “प्ये म्हस्याँ छ्याँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमू” को सही मायनेमा सार्थकता सिद्ध हुने कुरामा हामी सबै निर्धक्क भई ढुक्क हुन सक्तछौं । विचार गरौं ।          
(लेखक पूर्व प्रहरी महानिरीक्षक हुन् ।)

Posted by Unknown on 11:00 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यार्चागुम्बा बने यमराज |"

Leave a reply