एनआरएन अध्यक्ष शेष घले द्दुरा खाडी मुलुकमा अलपत्र नेपालीका लागि १० करोडको कोष स्थापना घोषणा |
\
दोहा -कतार
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले स्कूल जाने उमेरका नेपाली युवायुवती श्रम बेच्न त्रिभुवन बिमानस्थलमा लाइन लागेको देख्दा आफ्नो मुटु पोल्ने गरेको र त्यही दृष्यका कारण आफु कैयौं रात निदाउन नसकेको बताएका छन् ।गैरआवासीय नेपाली संघ कतारको छैटाैं अधिवेशनमा प्रमुख अतिथिका रुपमा शुक्रबार सम्बोधन गर्दै अध्यक्ष घलेले अाफ्नो निद्रा खल्बलाउने त्यही समस्या समाधानका लागि अाफ्नो दुर्इ बर्षे कार्यकालमा अधिकतम कोसिस गरेको बताए । साथै उनले मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेका कामदारलाई लक्षित गरी स्थापना गरिएको कल्याणकारी कोषले छिटै काम थाल्ने बताएका छन् । कोषको संचालन विधि र थप रकम जुटाउने काममा धेरै समय लागेको भन्दै अध्यक्ष घलेले अब सरकारसँग म्याचिङ फण्डको आश नगरी गैरआवासीय नेपाली संघले नै १० करोडको कोष स्थापना गर्ने बताए । कोष संचालनको तयारी गरिरहँदा मुलुक महाभूकम्पको पीडामा परेकाले प्राथमिकता फेरिन पुगेको बताए ।
स्कूलमा पढाई गर्नुपर्ने उमेरका नेपाली युवाहरु हातमा पासपोर्ट र झोला बोकेर आफ्ना श्रम बेच्न परदेशी भूमीमा जाने ब्यग्रताका साथ हजारौंको संख्यामा लाइन बसिरहेको त्यो दृष्यले मलाई जहिल्यै पिरोलिरह्यो । हामीले आखिर किन सीप बिनै यस्ता कलिला युवाहरुलाई निर्यात गरिरहेका छौं ? सीप सिकेर बिश्वबजारमा हाम्रो जनशक्तिलाई प्रतिस्पर्धी बनाउनेतिर हाम्रो किन जोड हुन सकेन ? त्यही कारण बर्षमा करिव एक हजार पाँच सयको संख्यामा बिदेशी भूमीमा नेपाली युवाहरुले ज्यान गुमाउन पुरिरहेकेा छ, हजारौं अन्य घाइते भइरहेका छन् । आखिर यो श्रृङ्खला कहिलेसम्म जारी रहने हो ?’ घलेले भने-‘ यिनै प्रश्नले म कैयौं रात निदाउन सकेको छैन् ।’
खाडी मुलुकका श्रमिकका लागि एनआरएनले के गर्यो भनेर धेरैले नेतृत्वलाई प्रश्न गर्ने गरेको उल्लेख गर्दै घलेले भने- मसँग जवाफका लागि यो दुई बर्षमा गरेका दर्जनौं कामको फेहरिस्त छ, तर म यहाँहरुलाई संक्षेपमा भन्न चाहान्छु कि मलाई जुन दृष्यले रातभर निदाउन दिएन, मलाई जुन दृष्यले बर्षौंसम्म पोलिरह्यो, त्यही दुखाई कमगर्न मेरो समय र सीप खर्च गरिरहेको छु, केही चिजमा नतिजा आउँदैछ, र केही प्रकृयामा छन् ।’
बिदेश आउने कामदारलाई सहि सूचना दिन वकिल र सूचना अधिकारीसहितको सूचना केन्द्र स्थापना गरिएको, बिदेशबाट फर्किएका कामदारलाई सहुलियत ऋण प्रवाहका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीसँग सम्झौता गरिएको, फर्किएका कामदारलाई तालिम दिन उद्यमशीलता बिकाश गर्न पौरखी र युएन वीमेन लगायतका संस्थासँग सम्झौता गरी काम अगाडी बढाएको उनले जानकारी दिए । दुवईका अनिल खालिङदेखि साउदीका रामकुमारसम्मलाई उद्धार गर्न एनआरएन सक्रिय भएको र अफि्रकी मुलुकमा नेपाली चेलिबेटी बेचबिखनको समस्या समाधान गर्न आफुले अफ्रिकी मुलुकमै पुगेर पहल गरेको घलेले बताए ।
दुःखमा परेका नेपाली कामदारका लागि सवैभन्दा ठूलो काम नै कल्याणकारी कोष रहेको भन्दै उनले विना ढिलासुस्ती पिडीतले राहत पाउन र यो कोष बषौर्ै चलोस भनेर बलियो संरचना बनाउन लागिरहेको बताए । आगामी दिनमा अथाह सम्भावना र विशाल चुनौती रहेकाले आफ्नो स्वार्थका लागि संस्थालाई नमुछ्न आग्रह गर्दै घलेले नेतृत्व गर्ने कुरालाई हल्का रुपमा लिन नहुने उल्लेख गरे । कार्यक्रममा कतारस्थित नेपाली दुतावासका कार्यवाहक राजदुत मणीरत्न शर्माले दुतावाससँग एनआरएनए कतारको सहकार्य तथा विदेशमा भाइचाराको विकासका लागि एनआरएनहरुको भूमिकाको प्रशंसा गर्दै सरकारले समेत मद्धत गरिरहेको बताए । एनआरएनएका उपाध्यक्ष टीबी कार्कीले गैरआवासीय नेपाली संघको अभियानमा मलेशिया लगायत खाडी मुलुकका समस्याहरुबारे बताउँदै भूकम्पपीडितको सहयोगमा एनआरएनएको अभियानबारे जानकारी दिए । महासचिव कुमार मन्तले ‘नेपालमा गरिवीका कारण २० बर्षको लक्का जवान बुढो भएर नेपाल फर्किने सम्भावना औंल्याए । युवाहरुको पलायनकै कारण मुलुकको विकास पछाडि परेको उल्लेख गरे । सचिव रन्जु थापाले खाडी क्षेत्रमा महिलाहरुले पाउने दुःखको महशुस आफूलाई समेत भएको बताईन् ।कार्यक्रममा एनआरएनएका सल्लाहकार तथा आगामी कार्यकालको नेतृत्वका आकांक्षी रतन झाले समय, क्षमता र स्रोतलाई प्रयोग गरेर नेपाललाई सहयोग गर्नुपर्ने बताए ।
सल्लाहकार नरेन्द्र भाटले मध्यपूर्वमा २० लाख नेपालीहरु कार्यरत रहेको र सबैका प्रायः एकैखाले समस्या रहेको बताए । कार्यक्रममा बहाराईनका आईसीसी सदस्य जेवी सापकोटा र ओमानका प्रतिनिधि डिबी क्षेत्रीले गल्फ संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । कार्यक्रमका विशेष अतिथी एनआरएनए आईसीसीका पूर्व उपाध्यक्ष सागर नेपालले संस्थाको स्थापनाकाललाई स्मरण गर्दै सच्चा नेपाली सपुतको रुपमा एनआरएनएले काम गरेको बताए ।
कहिलेकाहीँ एनआरएनएका बारेमा नराम्रा कुरा सुन्दा मुटु दुख्ने गरेको बताउँदै संस्थामा काम गर्ने चाहाना हुनेको भिडलाई सकरात्मक रुपमा लिनुपर्ने उनले बताए । एनआरएनए कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाईले संस्थाको महाधिवेशन शुरु हुँदै गर्दा विभिन्न आरोप लागे पनि अन्त्यमा नेतृत्व धन्यवादको पात्र बन्ने गरेको बताउँदै साझा सँस्थालाई साझा रुपमा हेरिनुपर्ने बताए । कार्यक्रममा विभिन्न अभियानमा एनआरएनए एनसीसी कतारलाई सहयोग गरेको भन्दै कतारमा स्थापित संघसंस्था तथा व्यक्तित्वहरु, संस्थामा सक्रिय भूमिका खेल्ने टिम तथा अग्रजहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।एनआरएनए एनसीसी कतारले महाधिवेशनमा प्रकाशित मुखपत्र ‘ दोहा द्रपर्ण’ को छैठौं अंकको एनआरएन अध्यक्ष घलेले बिमोचन गरेका थिए ।
एनआरएन कतारका अध्यक्ष मक्सुद आलमको सभापतित्वमा भएको उद्घाटन समारोहको सञ्चालन महासचिव बिनोद भट्टराईले गरेका थिए
