बमले छोराको हात गुमाए पछि आमा पिडा |
शोभा शर्मा काठमाडौं, मंसिर ५
आठ वर्षका समिर खड्गी बिहान उठेर बाआमाले चलाउने चिया पसल गएका थिए। आमाले दिएको चिया नास्ता खाए।उनी एकदमै छुकछुके बच्चा छन्, तर ज्ञानी र पढ्न पनि चलाख।
आज त संविधानसभाको चुनाव थियो। त्यसैले विदा थियो। स्कुल जानु थिएन। टोलभरि रुख, सूर्य र हँसिया हथौडा लगायतका चुनाव चिन्ह अंकित पोस्टरहरु टाँसिएका र झुण्डिएका थिए।समिरलाई रुख भएको पोष्टर घरमा लगेर टाँस्ने मन थियोे। करिब नौ बजेको हुँदो हो, समिर पसलबाट घर फर्के।गल्लीको विपरीत दिशाबाट अरु दुईजना बच्चाहरु सुनिता र गंगा पनि आइरहेका थिए, घर जान।बाटैमा प्लास्टिकको कुनै बक्सा भेटियो, समिरले उठाए। उनीहरुलाई गल्लीमै भेटिने सामान खेलौना लाग्थे। यसरी बाटामा भेटिने नौला सामान उठाउनु उनीहरुको आदत बनिसकेको छ।समिरले उठाएको त्यो बक्सा छनछन बजेन खेलौनाझैँ! पड्कियो ड्वाम्म! त्यो बम थियो कुनै अज्ञातले राखेको।समिर ढले, उताबाट आइरहेका दुईजना बच्चाहरु पनि ढले।संयोग नै भन्नुपर्छ, यसअघि यता कुनै चिज यसरी पड्केको थिएन! त्यसैले बाआमाले सिकाएका थिएनन् –बाटोमा भेटिने चिज नछुनू।पसलमा समिरका बा–आमा पड्किएको आवाजले डराए। उनीहरुलाई कल्पना थिएन छोराले उठाएको चिज हो पड्केको। जब थाहा पाए, बाबु त त्यहीँ ढले, बेहोस भएर।समिरको दाहिने हत्केला, छरपस्ट भइसकेको थियो बमले। बम पड्किनुअघि आइपुग्नुपर्ने पुलिस पछि आयो र भ्यानमा उनीहरुलाई राखेर वीर अस्पताल लग्यो।सामान्य उपचार गराएपछि सुनिता र गंगालाई डाक्टरले लैजान भने। उनीहरु फर्किए घर।समिर भने आकस्मिक कक्षबाट अप्रेसन थिएटर पु¥याइए। त्यसपछि आइसियुमा पुगे। उनी गम्भीर घाइते भएका थिए। उनको दाहिने हत्केला मात्र होइन, आँखामुनि पनि छर्रा लागेको थियो।बमले घाइते भएका तीनै जना बच्चाको परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन। विहान बेलुका छाक टार्न उनीहरुले दिनभरि शरीर घोटेर काम गर्नुपर्छ। कसैको सामान्य मम पसल छ, कसैको चिया पसल। एकदमै संघर्ष गरेर जीवन धान्न र बच्चाबच्ची पढाउन बल्लतल्ल सक्ने परिवारका मान्छेले गोलीले उडाएका हात जोड्ने खर्च जोगाएर राखेका हुँदैनन्। उनीहरुका बच्चालाई गल्लीमा स्वतन्त्र खेल्न पाउने शान्ति हुनुपर्छ। सुपरमार्केटमा महंगा खेलौना किन्न नसक्ने उनीहरुका लागि बाटोमा भेटिने रंगिन बक्सा बम बनेर पड्किनु हुँदैन।समिरका बाबु वीर अस्पतालको आइसीयु कक्षबाहिर कुरुवा बस्ने छिँडीमा अतासिएर बसेका थिए।उनलाई मनभित्रको उफानले घरी कुरुवा छिँडीमा पु¥याउँछ घरी बाहिर।जीवनभरि उनले कम्ता दुख गरेनन्, तीन छोराछोरी पढाउन।उनले दुख गरेको कुनै अज्ञात सन्कीले राखेको बम पड्केर उछिट्टिएको छोराको हात उपचार गरुँला भनेर होइन।छोराले कलम समाउला पढेर केही बन्ला र आफूलाई थेग्ला भनेर हो। ‘मेरो एउटै छोरो हो, उसको हातै यसरी गयो, म कसोँ गरुँ?’भित्र डाक्टरले नाडीबाट समिरको हात ‘कटिङ’ गरिसके। आइसियु कक्षमा उनको पुरै होस आइसकेको छैन। डाक्टरको आशंका छ, समिरले ३० प्रतिशत स्मरणशक्ति गुमाउन सक्छन्। तर अहिले उनी ठीकै छन्।उनी राम्रोसँग बोल्न पनि सक्दैनन् । दिनभरि छोरालाई सोध्न आइपुगेका पत्रकार, निर्वाचन पर्यावेक्षक, बालबालिकाका संघसंस्थाका मान्छे आएर उनको नालीबेली सोधिसके।समिरका बुबालाई आफ्नो दुख भन्दाभन्दै झर्को लागि सक्यो।छोराको हात गएपनि अहिले ठिकै छ भन्ने सुन्दा उनकी आमा केही ढुक्क त बनेकी छन्। तर,उनलाई छोराले बाँचेर बेहोर्नुपर्ने दुख सम्झेर कहाली लाग्छ।‘मैले, यी छोरा छोरीलाई पढाउन सडकमा चिया बेचेँ, कम्ता दुख गरिन, अब त मेरो छोराले लेख्न पनि नसक्ने भयो,’ उनको तप्प आँसु झ¥यो। ‘छोराले पढ्ला र थेग्ला भन्ने कत्रो आश छ हाम्लाई।’समिर एकदमै छुकछुके र ज्ञानी बच्चा छन्, दिमाग तेज छ। त्यसैले उनीहरुले नजिकैकोअरनिको बोर्डिङ स्कुलमा भर्ना गरिदिएका थिए। समिरकि दिदी सजना वीर अस्पतालको आइसियु कक्ष बाहिर रुदाँरुँदै सुन्निएका आँखा लिएर चुपचाप बसेकी थिइन्।उनलाई धेरै मान्छेले फोन गर्छन् र सोध्छन्, घटना कसरी भएको थियो? उनले सबै कुरा बताइदिन्छिन्। फोन राखेपछि उनलाई दिक्क लाग्छ।लामो सुस्केरा तान्दै उनले भनिन्, ‘यहाँ मेरो भाइको जिन्दगी सकियो।’उनीहरुलाई जिन्दगीमा दुखको पराकाष्ठा यही हो भन्ने लागेको छ।सकिएन त? मेरो भाइलाई बाइक चलाउने कत्रो रहर छ, उसलाई थाहा छैन, आफूले अब कहिले बाइक चलाउन पाउँदिन भन्ने।’ उनले भनिन्, ‘बाबा पनि अरुभन्दा बढी उसले आफ्नो हात नभएको थाहा पाउँदा कसो गर्ला भनेर आत्तिनुभएको छ।’
News Source: Setopati.com
Posted by Unknown
on 9:22 PM. Filed under
NEWS,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response