वैदेशिक रोजगारीको दुखद समाचार |
अवैध कामदारलाई समेत समावेश गर्दा दैनिक ४ भन्दा बढी शव नेपाल भित्रिने गरेको बोर्ड स्रोतले बताएको कारोबार दैनिकमा खबर छ । युवा उमेरका कामदारको यो मृत्युले वैदेशिक रोजगारीमा ठूलो चुनौती थपेको यस क्षेत्रका विज्ञहरु बताउँछन् । चालू आर्थिक वर्षको ५ महिनामा विदेशबाट ३ सय ५२ कामदारको शव नेपाल आएको छ । यो गत आर्थिक वार्ष्को सोही अवधिको भन्दा ३३ प्रतिशत बढी हो । गत आवको ५ महिनामा २ सय ६४ कामदारको शव नेपाल आएको थियो । कात्तिकको भन्दा मंसिरको मृत्यु संख्या ६५ प्रतिशत बढेको देखिएको छ । कात्तिकमा ६० कामदारको मृत्यु भएको थियो ।
सबैभन्दा बढी मलेसियामा कामदारले ज्यान गुमाएका छन् । ५ महिनामा मलेसियाबाट १ सय १० नेपाली युवाको शव भित्रिएको छ । कतारमा ९१, साउदी अरबमा ८९, कुवेतमा २० र संयुक्त अरब इमिरेट्स -यूएई) मा १९ र बहराइनमा ८ जना कामदारको मृत्यु भएको थियो ।
मेनपावर व्यवसायीले उचित परामर्श नदिँदा धेरै नेपालीले अनाहकमा ज्यान गुमाउनु परेको सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाई छ । वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङका अनुसार कामदारको स्वास्थ्य परीक्षण गरिए पनि काम सम्बन्धी ज्ञान दिएको हुदैन । गुरुङ भन्नुभयो-’काम सम्बन्धी तालिम नदिनु, सम्झौताबमोजिम सेवा सुविधा नपाउने तथा अभिमुखिकरण तालिम नदिई प्रमाणपत्रमात्र दिने गरिएकाले कामदारको मृत्युको बढेको हो ।’ व्यवसायीहरुले तीन दिने अभिमुखिकरण दिएको भन्नेबारे प्रमाणपत्र दिने भएपछि उचित परामर्श र तालिम नदिने गरेको पाइएको छ ।
स्रोत-ल लुम्बिनी खबर
